प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८
काठमाडौं । प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् ।
प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ ।
बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएकाले दशगजामा समस्या देखिएको छ ।
भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने गरेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको भन्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले भन्नुभयो, “हराएका सीमास्तम्भका कारण दशगजा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भनेर भारतीय समकक्षीसँग बेलाबेलामा कुराकानी भइरहेको छ ।”
प्रदेश २ को आठ जिल्लाामध्ये कतिपय जिल्लामा सीमावर्ती दशगजा क्षेत्र मिचेर भारतीय नागरिकहरूले खेतीपाती गरेका, घर टहरा बनाएर गाईगोठ बनाएका र बसोबास गरिरहेका समेत सार्वजनिक भएको छ ।
सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन् । माडरस्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij