आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भरतपुर अस्पतालमा बढ्न थाले सर्पदंशका बिरामी

  • प्रकाशित मिति : आइतवार, साउन ३, २०७८



  • चितवन । भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु सर्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । सर्पले डसेर दैनिक पाँच/सातजना बिरामी अस्पताल आउने गरेका छन् ।

    अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म विषालु सर्पले डसेर आएका ३५ जनाको उपचार गरिएको छ । सर्पले डसेर दैनिक आउने बिरामीलाई २४ घण्टा निगरानीमा राख्ने गरिन्छ । त्यस पश्चात् विष नदेखिएमा घर पठाउने गरिन्छ । उनले भने “केले टोक्यो भनेर आउने समेत जोड्दा दैनिक यो सङ्ख्या १० जनाको हाराहारी हुने गर्दछ ।” जिल्लामा भरतपुर अस्पतालमा मात्र सर्पदंशको बिरामीको निःशुल्क उपचार हुन्छ ।

    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनसहित बारा, मकवानपुर, गोरखा, लमजुङ्, तनहुँ र नवलपरासीका बिरामी यो अस्पतालमा उपचारका लागि आउने गरिन्छ । तीमध्ये पनि ठूलो सङ्ख्यामा नवलपरासीका बिरामी आउने गर्दछन् । अस्पतालले एन्टिस्नेक भेनम निःशुल्क उपलव्ध गराउँदै आएको छ ।

    गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनमसहित चितवन मेडिकल कलेज पठाइएको थियो । पौडेलका अनुसार अस्पतालमा वैशाखदेखि असोजसम्म सर्पले डसेका बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालमा रहेर लामो समय सर्पदंशको उपचार र अध्ययन एवं अनुसन्धानमा जुट्नु भएका वरिष्ठ फिजिसियन डा विजय पौडेलका अनुसार सो अस्पतालमा एक वर्षमा पाँच सय देखि ६०० जनासम्म सर्पदंशका बिरामी आउने गर्दछन् । तीमध्ये १५० हाराहारी विषालु सर्पले डसेका हुने गरेको उनको भनाइ छ । यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकास लिनुभएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विशालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उनले जानकारी दिए ।

    विगत वर्षमा सर्पदंशबाट धेरैको मृत्यु हुनेगरेको स्मरण गर्दै उनले पछिल्ला दिनमा मृत्यु दर निकै कम हुँदै गएको जानकारी दिए । भरतपुर अस्पतालमा सघन उपचार कक्ष स्थापना पूर्व विषालु सर्पले डसेकामध्ये ३५ प्रतिशतसम्मको मृत्यु हुने गरेको उनको भनाइ छ । विसं २०६५ मा भरतपुर अस्पतालमा सघन उपचार कक्ष वनेसँगै सर्पदंशका बिरामी बचाउन सकिएको उनको अनुभव छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदाश अधिकारीले पछिल्ला वर्षमा सर्पदंशका बिरामी बचाउन सकिएको बताए । मृत्यु दर घट्नुमा अस्पतालमा सघन उपचार कक्षलगायत विशिष्टिकृत सेवा शुरु हुनु, अध्ययन एवं अनुसन्धानले उपचार पद्दतिमा सहजता आउनु, जनचेतनाका कारण बिरामी समयमानै अस्पताल आउनुलगायत रहेको उनको भनाइ छ ।

    उनले यो मौसममा घरमा नै आएर करेत सर्पले डस्न सक्ने भएकाले घरमा सुत्नु अघि उच्च सावधानी अपनाउन, खेतबारीमा जाँदा बुट लगाउन, हिँडडुल गर्दा शरीरको पूरै भाग छोपिने गरी कपडा एवं जुत्ता लगाउन, घर वरिपरी भएका झाडी फाँड्न र सर्पले डसिहालेमा तत्काल अस्पताल आउन सुझाव दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij