प्रकाशित मिति : शनिबार, साउन ९, २०७८
शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवास बूढानिलकण्ठ गए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरिसकेका देउवा निजी काम परेर घर गएका होइनन्।
उनको बालुवाटारदेखि बूढानिलकण्ठको यो यात्रा सरसर्ती हेर्दा सामान्य देखिए पनि राजनीतिक संस्कारका हिसाबले यसभित्र महत्वपूर्ण अर्थ छ। आज बूढानिलकण्ठ पुगेसँगै देउवाले २० वर्षअघि आफूले गरेको एउटा गल्ती सच्याएका छन्।
पछिल्लो समय नेपाली प्रधानमन्त्रीहरूका लागि सरकारी निवास बालुवाटार र पार्टी कार्यालय बीचको भिन्नता लगभग मेटिइसकेको थियो।सरकारी खर्चमा चल्ने बालुवाटारमा पार्टीका साना-ठूला बैठक गर्नु उनीहरू प्रधानमन्त्रीको अधिकारजस्तो ठान्थे।
आफ्नो पार्टीका लागि नागरिकले तिरेको करबाट चल्ने बालुवाटार प्रयोग गर्थे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा त यो क्रम झनै बढेको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको झन्डै साढे ४ सय जनाको केन्द्रीय कमिटी बैठक उनले बालुवाटारमै गरेका थिए।
यसरी सरकारी सम्पत्तिको दुरूपयोग गर्न नहुने भन्दै आलोचना नभएको होइन। तर त्यस्ता आलोचनालाई प्रधानमन्त्रीहरू सजिलै पचाइदिन्थे।
असार २९ गते पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाले पनि सुरूमा त्यो आलोचनालाई सुनेको नसुन्यै गरेका थिए।
गत साता कांग्रेसको पदाधिकारी बैठक दुई दिनसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चल्यो।
सभापति तथा प्रधानमन्त्री देउवाले सरकारी निवास प्रवेश गरेको चार घन्टामै बालुवाटारमा उक्त बैठक राखेका थिए। त्यो बैठक कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रित थियो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनुपर्ने बैठक देउवा प्रधानमन्त्री भएकै कारण बालुवाटार बसेको थियो। अर्को दिन पनि देउवाले बालुवाटारमै बैठक राखे।
देउवाले बालुवाटारमै पार्टीको बैठक राखेपछि पार्टीभित्र र बाहिरबाट तीव्र आलोचना भयो।सामाजिक सञ्जालहरूबाट पनि खबरदारी भए। वृहत् नागरिक आन्दोलनले बालुवाटारमा पार्टी कार्यक्रम नगर्न भन्यो। कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीका कार्यक्रम बालुवाटारमा नगर्न देउवालाई ध्यानाकर्षण नै गराए।
बालुवाटारमा बैठक गर्दा बत्ती, पानीदेखि खाजा खर्च सरकारी ढुकुटीबाटै खर्च हुने गर्छ। खाना, खाजा खाएको बिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आउने गर्छ।
पाँचौं पटक प्रधानमन्त्री भएको १० दिनपछि भने देउवाले सरकारी निवासलाई पार्टी कार्यालय बनाउने चलन सच्याएका छन्। त्यसैअनुरूप बूढानिलकण्ठमा उनको निवासको आँगनमा पाल टाँगेर शुक्रबार पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टीका औपचारिक बैठकहरू बालुवाटारमा नहुने बताएका छन्। त्यसको कार्यान्वयन आज सभापति देउवाको निवास बूढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाट भएको उनले बताए।
बालुवाटारमा पार्टी बैठक गर्ने कार्यको सुरूवात भने देउवाले नै गरेका थिए।
२०५८ मा कांग्रेस नेता देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यही बेलादेखि उनले आफ्नो पार्टीको बैठक पनि बालुवाटारमै राख्न थालेका थिए।
प्रधानमन्त्री कार्यालयमा काम गरेका एक कर्मचारीका अनुसार प्रधानमन्त्री भएका बेला देउवाले आफ्नो पार्टीका तीन-चार वटा बैठक बालुवाटारमा गरेका थिए। यसबीचमा देउवाले २०५९ मा काङ्ग्रेस प्रजातान्त्रिक पार्टी खोले।छोटो समयमै उनी प्रधानमन्त्रीबाट पनि हटे।त्यसपछि २०६१ मा राजाबाट उनी प्रधानमन्त्री नियुक्त भए। त्यतिबेला पनि उनले पार्टीका बैठक बालुवाटारमै गरे।
२०६१ माघमा राजा ज्ञानेन्द्रले उनलाई हटाएर ‘कू’ गरे। राजाको कूविरूद्ध जनआन्दोलन भयो। २०६२/०६३ को जनआन्दोलनपछि संसद पुनर्स्थापना भयो।
कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। राजाको प्रत्यक्ष शासन हटाएर प्रधानमन्त्री बनेका कोइरालाले पार्टीका बैठक बालुवाटारमै निरन्तरता दिए। त्यतिबेला कोइरालाको स्वास्थ्य बिग्रेको कारण देखाएर मन्त्रिपरिषद बैठक पनि बालुवाटारमै बस्न थाल्यो।
गिरिजाको सरकार हटेपछि माओवादी केन्द्र र एमाले सत्तामा आए। तर उनीहरूले देउवाले गरेको उक्त गल्ती सच्याउन जरूरी ठानेनन्। विपक्षमा हुँदा पार्टीका नेताहरू बालुवाटारमा पार्टीका बैठक गर्नुहुन्न भन्थे तर आफ्नो पालो आएपछि त्यही दोहोर्याउँथे।
‘यसअगाडि पार्टी बैठक बालुवाटारमा बस्दै गर्दा समाचारमार्फत् पनि तपाईंहरूले प्रश्न उठाउनुभयो र सामाजिक सञ्जालमा लेख्ने युवाहरूले पनि प्रश्न उठाउनुभयो,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘प्रश्न उठ्दै गर्छ भनेर पचाउने चलन पनि हाम्रो राजनीतिमा नभएको होइन। तर बालुवाटारमा बैठक बस्ने परम्परा चलिआएको थियो, बितेका साढे तीन वर्ष त झन् बढ्यो। हामी पनि विगतमा बसेकै थियौं।’

उनले अबदेखि पार्टी बैठक बालुवाटारबाहिर नै बस्ने बताए। ‘बालुवाटारमा पार्टी बैठक गर्न हुन्न भनेर प्रश्नलाई उठाउनेलाई सम्मान गर्दै आजदेखि हामीले अन्यत्रै बैठक सुरू गरेका छौं। तपाईंहरूबाट आलोचना हुँदा आत्मआलोचना गर्दै सुधार हुँदै जाने पक्षमा हामी छौं,’ शर्माले भने।

a}7sdf g]tfu0f
sf7df8f}F, * ;fpg . g]kfnL sfFu|];sf] z’qmaf/ a’9fgLns07df a;]sf] a}7sdf g]tfu0f . t:jL/ M /f]zg ;fksf]6f,/f;;
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij