आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्मला हत्या काण्डका तीन वर्ष, ‘अब त न्याय पाउने आशा मरिसक्यो’

  • प्रकाशित मिति : आइतवार, साउन १०, २०७८



  • महेन्द्रनगर। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको आज तीन वर्ष पुगेको छ। २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएपछि निर्मलाको शव भोलिपल्ट (साउन ११ गते) घरनजिकैको उखुबारीमा भेटिएको थियो।

    उक्त घटनाको तीन वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। घटना भएदेखि हालसम्म थुप्रै अनुसन्धान टोली गठन भए, थुप्रै नेता, समाजसेवी, महिला अधिकारकर्मीहरूले निर्मलालाई न्याय दिलाउने आश्वासन परिवारलाई दिए।

    तर, अहिलेसम्म निर्मला र निर्मलाको परिवारले न्याय पाउन भने सकेका छैनन्। निर्मलाको न्यायका लागि देशभरी प्रदर्शन गरियो, धेरै जना आन्दोलनका क्रममा घाइते भए र एकजनाको ज्यानसमेत गयो ।

    यो बीचमा जिल्लामा पाँच जना प्रहरी उपरीक्षक (एसपी) र सात जना प्रमुख जिल्ला अधिकारीसमेत परिवर्तन भए, नयाँ आउने सबैले निर्मलाको हत्यारालाई कारबाही गर्ने आश्वासन दिए तर त्यो आश्वासनमै सीमित रहृयो। तीन वर्षसम्म पनि हत्यारा पत्ता नलाग्दा निर्मलाको परिवारले न्याय पाउने आशा नै मारिसक्यो। ‘निर्मलाको हत्या भएको तीन वर्ष पुग्यो, तर मेरो छोरीका हत्यारा अझै पत्ता लागेका छैनन् ।’

    निर्मलाकी आमा दुर्गा देवी पन्तले भनिन् ‘तीन वर्षसम्म त्यतिबेलाका प्रधानमन्त्रीसहित, अरू नेता, अधिकारकर्मीहरू, प्रहरी सबैले निर्मलाका हत्यारालाई कारबाही गर्छौं, हत्यारा उम्कन पाउँदैन भनेर आशा देखाए तर अहिले तीन वर्ष बितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा हामीमा न्याय पाउने आशा नै मरिसकेको छ।’

    उनले अगाडि थपिन् ‘मान्छेका तीन/चार महिनामै हत्यारा पत्ता लाग्छन्, तर मेरी छोरीको हत्या भएको तीन वर्ष बितिसक्दा पनि केही पत्ता लाग्न सकेको छैन। त्यसैले अब त हत्यारा पत्ता लाग्ला भन्ने आशा नै छैन, प्रहरीले धेरै घटना १२ वर्षपछि पनि पत्ता लागेका छन्, निर्मलाका हत्यारा पनि एकदिन पत्ता लाग्छन् भन्छन्, तर खै ? आशा मरिसक्यो ।’

    उनका अनुसार यहाँ केहीले निर्मलाको हत्यारा ठूलो मान्छे हो, केहीले दिलीप विष्ट हो भन्दै टिकाटिप्पणी गरिरहेका छन् । तर, आफूलाई ठूलै मान्छे भए पनि वा दिलीप नै भए पनि कसैसँग केही रिसिवि छैन जो भए पनि वास्तविक हत्यारा हुनुप¥यो। प्रमाणसहित वास्तविक हत्यारा मात्रै सार्वजनिक गर्न र छोरीलाई न्याय दिन नेपाल सरकार र प्रहरीसँग आफ्नो माग रहेको निर्मलाकी आमा दुर्गाले बताइन्।

    ‘कोही ठूलो मान्छे हो भन्छन् कोही दिलीप नै हो भन्छन् । मलाई पनि दिलीपको भिडियो हेर्दा ऊ जस्तै लागेको हो ।’ उनले भनिन्, ‘दिलीपको भन्दा बलियो प्रमाणसहित प्रहरीले हत्यारालाई सार्वजनिक गर्छ भने म दिलीपसँग माफी माग्छु।’

    दिलीप विष्टलाई प्रहरीले अभियुक्त रूपमा सार्वजनिक गरेको थियो, पछि उनको डिएनए नमिलेपछि उनलाई छाडिएको थियो । ‘मलाई त हत्यारा पत्ता लाग्ला भन्ने आशा मरिसक्यो ।’ निर्मलाकी आमा दुर्गाले भनिन्, ‘प्रहरीले अझै अनुसन्धान गरिरहेका छन्। त्यसैले अब प्रहरी तथा नेपाल सरकारसँग म के भन्न चाहन्छु भने मेरो छोरीको प्रमाणसहित वास्तविक हत्यारालाई मात्रै कारबाही गर्नु होला, अरू निर्दोषले सजाय नपाओस्, अनुसन्धान निष्पक्ष होस् र हत्यारा जो भए पनि मलाई केही छैन । हामीलाई न्याय मात्रै चाहिएको छ।’

    के गर्दै छ प्रहरी ?

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने निर्मला हत्या प्रकरणमा १५÷१६ जना प्रहरीको विशेष टोली सक्रिय रहेको बताउँछन्। ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धान ब्युरोको संयुक्त टोलीे निर्मला हत्याको घटना अनुसन्धानमा दिनरात खटिरहेकोे छ,’ उनले भने, ‘घटनाको धेरै कोणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धान कहाँ पुग्यो, कती प्रगति भएको छ भनेर अहिले नै भन्न मिल्दैन । तर, अनुसन्धान जारी छ ।’

    ‘अपराध अनुसन्धानमा भौतिक निर्माणमा हुने प्रगति जस्तो ५० प्रतिशत, ८० प्रतिशत, १०० प्रतिशत काम सम्पन्न भयो भन्ने जस्तो हुँदैन,’ डिएसपी न्यौपानेले भने, ‘भौतिक निर्माणमा त निश्चित प्रतिशत प्रगति भयो भन्न सकिन्छ । तर, अपराध अनुसन्धानमा दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्दा शतप्रतिशत प्रगति देखिन्छ । त्यो अगाडिसम्म प्रगति शून्य नै भनिन्छ ।’

    प्रहरीले निर्मला हत्याको एकदमै सिरियस भएर अनुसन्धान गरिहेको डिएसपी न्यौपानेले बताए। ‘प्रहरीले निर्मला केसलाई धेरै नै सिरियस रूपमा अनुसन्धान गरिहरको छ।’ डिएसपी न्यौपानेले भने, ‘निर्मलाका हत्यारा उम्कन भने पाउँदैन ढिलो चाँडो पत्ता लाग्छ।’

    ‘अझै पनि त्यो बाटो हिँड्न डर लाग्छ’

    निर्मला पन्तको शव भेटिएको उखुबारी निर्मलाको घरदेखि महेन्द्रनगर बजार जाने प्रमुख बाटोको छेउमै पर्छ । अहिले उक्त खेतमा उखु हटाएर धान लगाइएको छ । उल्टाखामवासीको महेन्द्रनगर आउजाउ हुने प्रमुख बाटोमै बलात्कार पछि हत्या गरिएकी निर्मलाको शव भेटिएपछि त्यो बाटो एक्लै हिँड्न त्यहाँका चेलीबेटी अझै पनि डराउँछन् । ‘म विद्यालय जाने आउने बाटो त्यही हो ।’ निर्मलाकी दिदीले भनिन्, ‘बहिनीको हत्या भएयता त्यो बाटोमा एक्लै आउन जान अझै पनि डर लाग्छ ।’ उनले अगाडि थपिन्, ‘मेरो बहिनीका हत्यारा अझै पनि खुला रूपमा घुमिरहेका छन्, त्यसैले एक्लै त्यो हिँड्न डर लाग्छ ।’

    ‘प्रधानमन्त्री पनि परिवर्तन भए, अब हत्यारा पत्ता लाग्ला कि ?’

    सुदूरपश्चिमकै शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन्। अब निर्मलाका हत्यारा पत्ता लाग्छन् कि ? जस्तो आफूलाई लागेको निर्मलाकी आमाले बताइन्। ‘हाम्रै ठाउँका प्रधानमन्त्री भएका छन्।’ निर्मलाकी आमा दुर्गाले भनिन्, ‘उहाँले पत्ता लगाउन सक्नुहुन्छ कि ? जस्तो लागेको छ ।’ उनले अगाडि थपनि्, ‘उहाँले पत्ता लगाएपछि उहाँलाई म जिन्दगीभर सम्मान र उहाँको राम्रो होस् भनेर भगवान्सँग प्रार्थना गर्ने थिए । तर, खै पत्ता लगाउँछन् कि नाइँ ? मनमा केही आशा भने पलाएको छ ।’ हिमालय टाइम्स दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij