आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विदेशबाट फर्केका भोजराजले गरे कृषिमा लगानी, महिनामा ४ लाखको व्यापार

  • प्रकाशित मिति : मङ्लबार, साउन १२, २०७८



  • अधिकांश नेपाली युवा बाध्यताको झोला बोकेर परदेश जान्छन्। पैसासँग जवान उमेर र जाँगर साटेर फर्किन्छन्। पोखरा महानगरपालिका वडा नम्बर १४, चौथेका भोजराज पुवाली त्यस्तै युवा हुन् जसले तीस वर्षको उर्जाशील समय परदेशमा खर्चिए।

    अहिले भने ४४ वर्षीय भोजराज परदेश त्यागेर स्वदेशमै श्रम खर्चिँदै छन्।

    भोजराजको घर नजिकै थुमाको डाँडा पशुपालन फार्म छ। फार्ममा तीन गाई र ३५ वटा भैंसी छन्। यसबाहेक मौसमअनुसार तरकारी खेती पनि गर्छन्। अरू दस जनालाई रोजगारी दिएको पनि उनले जानकारी दिए।

    पहिलो कोरोना लकडाउनपछि कृषि व्यवसाय सुरू गरेका उनी त्यसअघि ओमानस्थित एक होटलमा सेफ थिए। त्यहाँ मासिक दुई लाख ३० हजार रूपैयाँ कमाउँथे। सेवा-सुविधा आकर्षक थियो। खाडी मुलुकमा राम्रो कमाइ र सेवा-सुविधा नेपाली श्रमिकलाई कमै मात्र हात पर्छ।

    ओमानमा आठ वर्ष बिताएका उनी २०७६ साल पुस २८ गते बिदामा आए। झन्डै चार महिनापछि, चैत २२ गते फर्किने टिकट थियो। तर कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गर्‍यो। अन्तर्राष्ट्रिय उडान बन्द भए। भोजराज फर्किन सकेनन्।

    ‘मैले नेपाल आउनुअघि नै साहुलाई फर्किने निश्चित छैन भनेको थिएँ। तर केही समय आराम गरेर फर्क भनेर साहुले टिकटै दिएर पठाएका थिए। थप बिदा चाहिए टिकट सारिदिने पनि भनेका थिए,’ उनले सम्झिए।

    कोरोनाले विश्वभर गाँझ्न थालेको थियो। उनी कार्यरत होटलले पनि अवस्था सहज भएपछि फर्किन भन्यो। तर घर बस्दाबस्दै भोजराजलाई विदेश जाने मन लाग्न छाड्यो। बरू देशमै केही गर्छु भन्ने सोचे।

    ‘सधैं अर्काको देश मात्रै कति हिँड्ने, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि के काम गर्न सकिन्छ भनेर बुझ्न थालेँ।’

    भोजराजसँग होटल सञ्चालनको धेरथोर आइडिया थियो। विश्वका धेरै मुलुकका थरीथरी परिकार बनाउन सक्थे। चिनियाँ, भारतीय, इटालियन, अरबी खाना बनाउने ज्ञान छ उनीसँग। एउटा होटल नै खोल्नुपर्ला भन्ने सोचे। तर कोरोनाकालको माहोल सहज देखिएन।

    त्यसपछि अलमल परेका उनलाई भाइले कृषि पेसा गर्न सुझाए। अनि भोजराजलाई पनि हौसला जाग्यो।

    ‘हाम्रा आमाबुबा न लाहुर जानुभयो न खाडी। यहीँ कृषि पेसा गरेर दूध, घिउ खानुभयो। बारीमा खनिखोस्री गरेरै जीवन गुज्रियो,’ उनले भने।

    त्यो बेला र अहिले दाँजेर हेर्दा आवश्यकताहरू बढेका छन्। खर्च बढेको छ। तर व्यवसायिक कृषि गर्न सके अहिले पनि यो पेसाबाट जीवन धान्न सकिन्छ भनेर उनले आँटेका हुन्।

    उनको आँट र जाँगरले सोचेजस्तै फल दियो। अहिले पशुपालन र तरकारी दुवैबाट उत्पादन राम्रो हुँदै गएको भोजराज बताउँछन्। फार्मबाट दैनिक चालीस लिटरभन्दा बढी दूध उत्पादन हुन्छ जुन स्थानीय बजारमै खपत हुन्छ। बिहान र बेलुकाको दूध ठेक्कामा जान्छ। उपभोक्ताको घरघर पनि पुर्‍याइदिन्छन्। बजारमा माग एकदमै बढेकाले धान्न पो मुश्किल भएको उनी बताउँछन्।

    ‘दिनको पाँच सय लिटरसम्म दूध उत्पादन भए पनि यहीँ बजारमा खपत हुन्छ, बेच्न समस्या छैन,’ उनले भने।

    पछिल्लो समय भने केही व्यवसायीले एक सय लिटर दूधमा दुई लिटर पानी थप्दैमा के हुन्छ र भन्ने मानसिकता राख्दा उपभोक्ताको विश्वास घटेको उनको भनाइ छ।

    ‘हामी त जस्तो दुह्यो उस्तै दूध उपभोक्तासम्म पुर्‍याउँछौं। बरू मूल्य पनि सोहीअनुसार लिन्छौं,’ उनले भने।

    त्यहाँको स्थानीय बजारमा डेरीको दूध प्रतिलिटर एक सय बीस रूपैयाँ छ। भोजराज लिटरको एक सय तीसमा बेचिरहेका छन्। आफूले शुद्ध दूध मात्र बिक्री गर्ने भएकाले उपभोक्ताले खुसी भएर लिने उनले दावी गरे।

    भोजराजले गाईभैंसीको मलमूत्र पनि उपयोग गर्छन्। स्वस्थकर तरकारी उब्जाउन सकेसम्म अर्गानिक मल प्रयोग गरेको र यही कारण उत्पादन राम्रो भएको उनी बताउँछन्। टनेलको तरकारीले नपुगेर कतिपय उपभोक्तालाई खाली हात पठाउन परेको अनुभव छ उनको।

    ‘मैले अहिलेसम्म साढे चार सय किलो टमाटर बेचिसकेँ। मौसमअनुसार साग, घिरौंला, काँक्रो, करेला लगाउँछु। एउटा टनेलको काँक्रोबाट १५ हजार रूपैयाँ आयो,’ उनले उत्साहित हुँदै सुनाए।

    तरकारी र दूध गरी उनले मासिक चारदेखि साढे चार लाख रूपैयाँसम्मको व्यापार गर्छन्। दूध मात्र मासिक तीन लाख रूपैयाँको उत्पादन हुने उनले बताए।

    भोजराजले व्यवसाय सञ्चालनका लागि जग्गा धितो राखेर तीस लाख रूपैयाँ ऋण लिएका छन्। बाँकी विदेशमा कमाएको रकम गरी जम्मा सत्तरी लाख लगानी गरेको उनले बताए। अब उनी लगानी बढाउने योजनामा छन्।

    ‘आम्दानी यति नै हुँदो रहेछ भनेर हिसाब गरेको छैन,’ उनी भन्छन्, ‘जग्गा भाडामा लिएको छु। यही हिसाबले राम्रो हुँदै गयो भने आफ्नै गोठ बनाउन सकिएला भन्ने सोच हो।’

    भोजराजले फार्म भएको जग्गाको वार्षिक भाडा एक लाख तिर्नुपर्छ। टनेल भएको जग्गा भाडा वार्षिक एक लाख दस हजार छ। गाइभैंसीका लागि घाँस काट्ने जमिनको डेढ लाख तिर्नुपर्छ। गाउँमा आफ्नो जग्गा भए पनि बजार नभएकाले यो बाध्यता आइपरेको उनी बताउँछन्।

    ‘गाउँमा सबैका घरमा गाईवस्तु छन्। आफ्नै बारीको तरकारीले पुग्छ। त्यहाँ दूध र तरकारी बिक्री हुने कुरै भएन,’ उनले अवस्था बताए।

    कृषि पेसा सजिलो त होइन। तर जति दुःख भए पनि दिनभर आफ्नै देशको ढुंगामाटो, गोबरसँग खेलेर साँझ परिवारसँगै हुन पाउँदा सबभन्दा आनन्द अनुभव हुने उनी बताउँछन्।

    ‘सुकिलोमुकिलो भएर हिँड्न नपाए पनि साँझ आफ्नै परिवारसँग बस्न पाइन्छ,’ उनी भन्छन्, ‘मिठोमसिनो खान पाइन्छ। खुसीको कुरा यही हो।’

    सानै उमेरमा विदेसिएका भोजराजलाई उमेर छँदै स्वदेश नफर्किएकामा कहिलेकाहीँ पछुतो पनि लाग्छ। भन्छन्, ‘केटाकेटी उमेरमा झोला बोकेर हिँडियो। ३१ वर्षसम्म परिवार, बालबच्चासँग टाढा भएँ। बेलैमा फर्किनुपर्ने रहेछ। देशमै काम गरेको भए पनि सक्ने रहेछु।’

    कुरैकुरामा उनले आफ्नो कामको यात्रा पनि सुनाए। भोजराज १३ वर्षका थिए। ऊ बेला गाउँमा लाहुरेको छुट्टै सम्मान थियो। लाहुरे आयो भनेर गाउँभरिका मानिस हेर्न जान्थे। त्यो दृश्यले भोजराज लोभिन्थे। लाहुरे बन्ने धून चढेको थियो।

    एक दिन उनी विद्यालयको पोसाकमै भागेर भारत गए। दिल्लीमा भाँडा माझ्ने काम गरे। पछि एउटा घरमा सरसफाइ र खाना पकाउने काम पाए। त्यहाँका साहुले उनलाई विद्यालय भर्ना गरिदिए। दुई वर्ष पढ्दा आफूले धेरै कुरा जानेको उनी बताउँछन्।

    दिल्लीमा उनले धेरै क्षेत्रमा काम गरेर पाँच वर्ष बिताए। नेपाल आएपछि फेरि मुम्बई जाने सोचे र गए पनि। त्यहाँ उनी होटलमा काम गर्न थाले। सिक्दै र मेहनत गर्दै उनी सहयोगीबाट राम्रो सेफ भए।

    पछि होटलमै काम गर्न भनेर उनी सन् २००५ मा कतार उडे। त्यहाँ सात वर्ष काम गरे। उनको कामको खुब तारिफ भइरहेको थियो।

    ‘ओमानबाट कतार घुम्न गएका एक होटल व्यवसायीलाई मैले बनाएको खाना मनपरेछ। भेटेर ओमानमा राम्रो सेवा-सुविधा र तलब दिने बताए। त्यसपछि म ओमान गएको हुँ,’ उनले सुनाए।

    भोजराजका अनुसार ओमानमा काम गर्दा जापान, पोल्यान्ड लगायत अन्य मुलुकबाट समेत कामको अवसर आएको थियो। तर उनलाई ओमान छाडेर कतै जान मन लागेन।

    भारत र खाडीमा तीन दशक बिताएर फर्किएका उनले अब भने यहीँ कृषि गर्न हिम्मत कसेका छन्।

    भन्छन्, ‘विदेश जाऊ, कमाऊ, घडेरी किन, घर बनाऊ, छोराछोरी पढाऊ। एक जना मान्छेको यत्तिकैमा जीवन सकिँदो रहेछ। त्यसैले अब बाँकी जीवन आफ्नै माटोमा बितोस् भन्ने चाहना हो।’

    उनका अनुसार कृषि पेसा गर्न हौसिएका युवालाई सरकारको सहयोग भने आवश्यक छ। सरकारले वास्तविक किसान चिनेर सहुलियत दिन सके कृषि पेसा फस्टाउँछ। देशमै काम गर्ने इच्छा हुँदाहुँदै पनि पुँजी नपुगेर परदेसिनु पर्ने बाध्यता भएकालाई सरकारले सरल कर्जा उपलब्ध गराउनुपर्ने उनी बताउँछन्।

    ‘सहुलियत ऋण पाए लगानी बढाएर ६० वटासम्म भैंसी पाल्ने योजना छ मेरो,’ उनले भने, ‘सरकारबाट सहयोग वा हौसला मात्र भए पनि ऊर्जा थपिन्छ।’

    भोजराजले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत पचास प्रतिशत अनुदान रकम भन्दै टनेल बनाउन केही रकम पाएका थिए। उनका अनुसार एक लाख बीस हजार लागतमा चार वटा टनेल बन्ने हिसाब गरिएको थियो। त्यसको पचास प्रतिशतले साठी हजार उनले पाए। तर चार वटा टनेल बनाउन दुई लाख खर्च भएको उनी बताउँछन्।

    उनले पोखरा महानगरबाट पचास प्रतिशत अनुदानमा एउटा हाते ट्र्याक्टर पनि पाएका छन्। त्यस्तै श्रम मन्त्रालयले उनलाई राष्ट्रिय उद्यमशीलता पुरस्कार २०७७-०७८ द्वारा सम्मान गरेको छ। त्यसले पनि प्रोत्साहन मिलेको उनि बताउँछन्।

    भन्छन्, ‘भोलि मेरा सन्तान विदेश जान नपरोस्। देशमै केही गर्नुपर्छ भन्ने उदाहरण बन्न सकौं भन्ने हो।’

    स्वदेशमै केही गर्छु भन्नेका लागि भोजराज सुझाव पनि दिन्छन्, ‘लगानी गर्ने बित्तिकै कमाइ भइहाल्छ भन्ने सोच्नु हुँदैन। आज नभए भोलि हुन्छ। थोरै होस् तर दीर्घकालीन योजना बनाएर काम गर्ने हो भने महिनामा डेढ लाख कमाउन विदेशै जानुपर्छ भन्ने छैन।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij