आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०७८



  • बनेपा । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ। बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारीसहित बैंकका कर्मचारीको टोलीले भत्ता वितरण गर्न शुरु गरेको हो।

    टोलीले घरघरमा नै पुगेर मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ। सोही क्रममा आइतबार वडा नं २ का २० व्यक्तिलाई लुम्बिनी विकास बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको थियो।

    बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले बताए। नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा तीन हजार २९१ रहेका छन्। त्यसमध्ये मासिक रु तीन हजार भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक एक हजार ९०२ रहेका छन् भने रु दुई हजार मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको सङ्ख्या १२१ रहेको नगरपालिकाले जनाएको छ।

    त्यस्तै रु दुई हजार मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३९३ तथा रु दुई हजार नै भत्ता पाउने एकल महिला ५०२ रहेका छन्। त्यसैगरी मासिक रु तीन हजार भत्ता पाउने पूर्ण अपाङ्गता भएकाको सङ्ख्या ७१, मासिक रु एक हजार ६०० पाउने आंशिक अपाङ्गता भएकाको सङ्ख्या ७५ तथा मासिक रु ४०० भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि पाँच वर्षसम्मका)को सङ्ख्या २२७ रहेको नगरपालिकाको सामाजिक सुरक्षा शाखाले जनाएको छ।

    नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमा नै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो। यसपटक पनि आइतबारबाट शुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमशः सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

    नगरपालिकाले विगतदेखि नै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ भने यस वर्षदेखि ज्येष्ठ नागरिकका लागि मुस्कानसहितको सेवाअन्तर्गत दाँत राख्ने, कान नसुन्नेका लागि सहयोगी उपकरण व्यवस्था गर्नेलगायत योजना अघि सारेको नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताए।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij