प्रकाशित मिति : बिहिबार, साउन २८, २०७८
यस सिजनको शीर्ष छ सूचीमा पवनदीप राजन, सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बले छन्। यीमध्ये आइडलको ट्रफी कसले लानेछ भनेर तय भएको छैन। सहभागीले आफ्नो सामाजिक मिडियामा फलोअर्स भने कमाइरहेका छन्।
इन्डियन आइडलले यसपालि सामाजिक सञ्जालको फलोअर्स र सक्रियताका आधारमा मूल्यांकन गरिने भएपछि सबै सहभागीहरू फलोअर्स बढाउन लागिपरेका छन्।
जुम टिभीले गरेको अनुमानअनुसार इन्डियन आइडल १२ का सहभागी सायली काम्बलेको इन्स्टाग्राममा लगभग तीन लाख फलोअर्स छन्। यी गायिका महाराष्ट्र, मुम्बईकी हुन्। उनले भारतीय रियलिटी शो ‘भ्वाइस अफ इन्डिया’ र ‘मम्मी के सुपरस्टार’ बाट गायनमा सहभागी हुँदै इन्डियन आइडलसम्म यात्रा बढाएकी हुन्।
पवनदीप राजन यो सजिनको इन्डियन आइडलका सबैभन्दा बढी फलोअर्स भएका प्रतियोगी हुन्। उनको इन्स्टाग्राममा दश लाखभन्दा बढी फलोअर्स छन्। उनी सन् २०१५ को रियलिटी कार्यक्रम ‘भ्वाइस अफ इन्डिया’का विजेता थिए।
१८ वर्षिया अरुणिता कांजीलाल सबैभन्दा कान्छी प्रतियोगीमा पर्छिन्। सानै उमेरमा उनले सामाजिक सञ्जालभित्र र बाहिर चर्चा कमाउन थालिसकेकी छिन्। उनको जन्म कलकत्तामा भएको थियो। उनले रियलिटी शो ‘सा रे ग म प लिटल च्याम्प्स’बाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन्। अहिले इन्स्टाग्राममा उनको लगभग दश लाख फलोअर्स छन्।
इन्डिन आइडलको योडलिङ रानी नामले चिनिने प्रतियोगी सनमुख प्रियाले ‘सा रे ग म प लिटल च्याम्प्स तेलेगु’बाट गायनमा डेब्यू गरेकी थिइन्। यस सिजनमा उनले आफ्नो गायन शैली परिवर्तन गरेको कारण कयौँ नकरात्मक प्रतिक्रिया पनि पाएकी थिइन्। इन्स्टाग्राममा उनको तीन लाखभन्दा बढी फलोअर्स छन्।
मोहम्मद दानिशले आफ्नो गायनबाट दर्शकलाई मात्र नभई थुप्रै सेलिब्रेटीलाई प्रभावित पारेका छन्। एकपटक अभिनेत्री नीतु सिंहले उनलाई स्वर्गीय ऋषि कपुरसँग तुलना गरेकी थिइन्। उनलाई इन्स्टाग्राममा सात लाखभन्दा बढीले फलो गरेका छन्।
कर्नाटकका गायक निहाल ताउरो इन्डियन आइडलमा आफ्नो ‘सुथिङ’ आवाज र आर्कषित कपालका कारण परिचित छन्। उनले आफ्नो गायन करियर ‘सा रे ग म प कन्नड’बाट सुरू गरेका हुन्। उनले थुप्रै अन्तर्राष्ट्रिय कार्यक्रम पनि गरेका छन्। इन्स्टाग्राममा उनको लगभग दुई लाख फलोअर्स छन्।
यही अगष्ट १५ मा इन्डियन आइडलको विजेता घोषणा गरिने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij