प्रकाशित मिति : बिहिबार, साउन २८, २०७८
उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पुवाँरेबाट घरजान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।
आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ।
मृतक मगर राति कुन समयमा किन र कसरी लडे भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत बेदप्रसाद गौतमले जानकारी दिए। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij