आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • महेन्द्रनगर। साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे ।

    कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्यो । मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ । सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल तैनाथ गर्ने नीति लिएको १४ वर्षपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो बनाएसँगै कञ्चनपुरमा पनि दु्रत गतिमा बिओपी थपिने क्रम छ ।

    दुई वर्ष अघिसम्म कञ्चनपुरमा सशस्त्र प्रहरीको एउटा गण र बेलौरीतथार दोधारा चादँनीमा रहेका दुई वटा बिओपी सीमा सुरक्षामा तैनाथ थिए । बिहीबार मात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कञ्जभोजमा सशस्त्र प्रहरीको २० औँ बिओपी स्थापना भएको छ । कञ्चनपुरमा नेपाल–भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ । उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन् ।

    कोरोना कहर सुरु भएसँगै सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पाएको सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । “अझै ब्रह्मदेव, दोधारा चाँदनी र पुनर्वासमा गरी चार वटा पोष्ट स्थापना गर्ने तयारीमा छौँ ।” उनले भने, “हाम्रो उपस्थिति बढेसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा स्तम्भ र भूमि रक्षा, चोरी शिकारी नियन्त्रण, अवैध बाटोबाट हुने अवैध गतिविधि नियन्त्रण भएका छन् ।”

    दोधारा चाँदनी क्षेत्रमा बिहीबार स्थापना भएको कञ्चभोजको पाँचौँ बिओपी हो । उक्त पोष्टको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षकले गरिरहेका छन् । “बीस वटा पोष्टमा नौ स्थानमा स्थायी संरचना बनिसकेका छन्”, सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, “अन्यमा अहिले अस्थायीरूपले निर्माण गरेर ड्यिुटी थालिएको छ ।”

    उनले गत आर्थिक वर्षमा मात्रै चोरीशिकारी नियन्त्रण कार्यबाट रु चार करोड राजस्व सङ्कलन भएको बताए । सीमा क्षेत्रबाट ५४ जना लागू पदार्थ तस्कर र अवैध बाटोबाट भारत जान लागेका २० बालबालिकालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    सीमामा सक्रियता बढाउँदै गएको सशस्त्र प्रहरीलाई भौतिक संरचना र पूर्वाधार विकासमा समेत राज्यको ध्यान जानुपर्ने सीमा क्षेत्रका स्थानीयवासीको भनाइ छ । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले यहाँको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढेप्रति खुसी व्यक्त गरे । “सीमा क्षेत्रमा हुने अवैध गतिविधि पनि सुरक्षाकर्मीको उपस्थितिले निरुत्साहित हँुदै जानेछन्, सरकारको सीमामा बिओपी बढाउने कुरा निकै सह्रानीय छ ।”

    त्यसैगरी पुनर्वास नरगपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जैशीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दा सीमा क्षेत्रका नागरिकलाई सहज भएको बताए । “अहिले भारतीय पक्षसित समन्वय नै राम्रो छ”, उनले भने, “भूमि अतिक्रमणको विषय पनि टुङ्गो लगाउनुपर्छ ।” उनले प्याराताल क्षेत्रमा भारतीय पक्षले २०६१ सालयता अतिक्रमण गरेको बताए । “सो क्षेत्र भारतले नक्सामा आफ्नो भूमि भनी दाबी गरे पनि भोगचलन हामीले गरेका छौँ”, उनले भने, “अहिले पनि प्यारातालबाट ५०० मिटरभित्र जङ्गलबाट सीतास्तम्भ नंं १९५ ढलेको अवस्थामा छ ।” उनले भारतसित समन्वय गरेर सीमा विवादको विषय पनि टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij