आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्र प्रहरीको जनशक्ति थप्न सरकार गम्भीर

  • प्रकाशित मिति : बिहिबार, भदौ ३, २०७८



  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन् ।

    काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सीमा सुरक्षा चौकीको सङ्ख्या थप्ने, प्रहरीको क्षमता वृद्धि गर्ने र भइरहेका चौकीको स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले जनशक्तिकोे वृद्धि, स्रोत साधन र क्षमतावान बनाउन नेपाल सरकार गम्भीर रहेको र सशत्र प्रहरी हरेक क्षेत्रमा काम गर्नका लागि एक्लै छैन भनेर विश्वास दिलाए । मन्त्री खाँणले आगामी दिनमा अझै थप जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्ने आशा व्यक्त गरे ।

    “सशस्त्र प्रहरीलाई साधन स्रोतयुक्त बनाउन सरकारले सक्दो पहल गर्ने छ, त्यसका लागि नेपाल मन्त्रालय गम्भीरतापूर्वक लाग्नेमा विश्वस्त गराउँदछु”, मन्त्री खाँणले भने । उनले अझै पनि कोरोनाको प्रभाव गम्भीर चुनौतीको रूपमा रहेकाले आम नेपालीलाई कसरी जोगाउने भन्ने विषयमा सरकार गम्भीरताका साथ काम गरिरहेको बताए ।

    जनताको जीवन रक्षाका लागि अझै गम्भीरतापूर्वक लाग्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए । मन्त्री खाँणले नेपाली जनताको जीवन रक्षा पहिलो दायित्व भएकाले सरकार जनताको समस्याबाट टाढा जान नसक्ने स्पष्ट पारे । उनले भने, “आम नागरिकको जीवन रक्षा गर्नु हामी सबैको पहिलो दायित्व हो, त्यसैले नेपालका सबै सुरक्षा निकायले गम्भीरताका साथ पहल गर्नुपर्छ ।” उनले कोरोना महामारीलगायत विषम परिस्थितिमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायतले खेलेको भूमिकाको सराहना व्यक्त गरे । मन्त्री खाँणले मुलुकमा अझै पनि कोरोनाको तेस्रो लहरको खतरा रहेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए ।

    मन्त्री खाँणले भरोसा र विश्वासिलो सुरक्षा बल सशस्त्रले मुलुक र जनताको सुरक्षाका लागि खेलेको भूमिको प्रशंसा गरे । विषम पस्थितिमा पनि भूखण्डताको रक्षाका लागि हिउँ, धुलो, पानी नभनी कर्तव्य निर्वाहमा खटिने प्रहरी कर्मचारीको योगदानको उनले सराहना व्यक्त गरे ।

    गृहमन्त्री खाँणले सशस्त्र प्रहरीले नेपाली जनता र नेपालको रक्षाका लागि दृढताका साथ सक्रिय भएर तस्करी र लागुपदार्थ ओसारपसार नियन्त्रणमा अहम भूमिका खेलेको तथा राजस्व चुहावट कमी गर्न र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गरेको बताए ।

    सीमित साधन र स्रोतका बीच जनताको सुरक्षामा कर्तव्य निर्वाह विश्वमै सराहनीले काम गरेको उल्लेख गर्दै गृहमन्त्री खाँणले हरेक क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले उत्तिकै भमिका खेलेको छ भने ।

    उनले दुर्घटना हुँदा उद्धार र मानिसको जीवन बचाउने सन्दर्भमा सशस्त्रले अब्बल उपस्थिति जनाएर उल्लेखनीय काम गरेको पनि बताए । राष्ट्रिय गौरवका आयोजनाको सुरक्षा तथा हिंसात्मक गतिविधि नियन्त्रणमा पनि सशस्त्रको भूमिका महत्वपूर्ण छ भने ।

    नेपाल विरोधी कुनै पनि गतिविधि हुन नहुनेमा जोड दिँदै उनले नेपाल पञ्चशिलको सिद्धान्त र असंलग्न नीतिमा विश्वास गर्ने भएकाले नेपालको तटस्थताको भूमिकामा आँच आउन नहुनेमा जोड दिए । उनले अझै ठोस नीति र कार्ययोजनाका सथ अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन पनि दिए ।

    गृहसचिव टेकनारायण पाण्डेले शान्ति सुरक्षा तथा आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् उद्धार, कोभिड–१९ महामारी व्यवस्थापनलगायत विविध जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले पु¥याएको योगदानको प्रशंसा गरे ।

    समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचार, मानवअधिकार उल्लङ्घन तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराए । महानिरीक्षक खनालले शान्ति सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, विपद् प्रकोप पीडितको उद्धारमा सशस्त्र प्रहरीले योगदान गरिरहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij