प्रकाशित मिति : शुक्रबार, भदौ ४, २०७८
काठमाडौं। नेकपा एकीकरण बदर भएर एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका बेला ९ जना केन्द्रीय सदस्यको साथ पाएका माधव नेपालले पार्टी औपचारिक रुपमा विभाजित हुने बेलासम्म एक तिहाइभन्दा धेरै केन्द्रीय सदस्यहरुको साथ गुमाएका छन्।
बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ता गर्नका लागि दिइएको निवेदनमा ९५ जना केन्द्रीय सदस्यको सूची छ । जसमा केवल ५८ जना मात्रै एमालेका केन्द्रीय सदस्यहरु हुन्।
नेपालले पार्टी विभाजन गर्नुअघि केही केन्द्रीय सदस्यले माधव गुट छाडेको औपचारिक घोषणा गरेका थिए। यति हुँदाहुँदै पनि उनको गुटमा ५ जना केन्द्रीय सदस्य रहेको अनुमान गरिएको थियो। तर, नेपालले नयाँ पार्टीका लागि निवेदन दिँदा ५ जनाको मात्र त्यहाँ नाम छ । अर्थात ३७ जना एमालेका केन्द्रीय सदस्यले नेपाललाई साथ दिएका छैनन्।
यसरी नेपाललाई साथ नदिनेमा नेपालका विश्वासपात्र मानिएका नेताहरुसहित उनका आफ्नै सम्धीसमेत छन्। अध्यक्ष केपी शर्मा ओलीका कटु आलोचक पूर्व उपाध्यक्ष भीम रावलदेखि, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, अमृत बोहरा, सुरेन्द्र पाण्डे, प्रदिप नेपाल, रघुजी पन्तजस्ता प्रभावशाली नेता मात्र नभइ उनका आफ्नै सम्धी सोमप्रसाद पाण्डेले पनि नेपाललाई साथ दिएनन्।
नेता पाण्डे अन्तिम समयसम्म पनि पार्टी विवाद समाधान गर्ने र त्यसो हुन नसके नेपाल समूहमा नै बस्ने बताएका थिए। तर विवाद मिल्ने छाँट नदेखेपछि उनले अन्तिम समयमा नेता नेपालको साथ छोडेका छन्। नेपालको साथ किन छोड्नु भयो भन्ने डिसी नेपालको प्रश्नको उनले जवाफ दिन चाहेनन्। ‘म बाहिर छ पछि कुरा गरौंला भन्दै पाण्डे तर्किए।
यी नेताहरुले किन नेपाललाई साथ दिएनन् भन्ने प्रस्ट छैन । तर, स्रोतका अनुसार यी नेताहरु एमाले पार्टीभित्र अध्यक्ष ओलीको स्वेच्छाचारिता रोक्नुपर्ने पक्षमा भए पनि पार्टी नै विभाजन गर्ने पक्षमा भने थिएनन्।
पार्टीको एकताको पक्षमा धारणा राख्दै आएका यी नेताहरु सम्मानजनक रुपमा एमालेमा फर्किन चाहन्थे । तर, एकता प्रक्रिया नै भाँड्ने गरी पार्टी विभाजन गर्ने निर्णय भएपछि उनीहरुले साथ दिन सकेनन्।
केहीले अहिले नेपालको पार्टीमा नगएका नेताहरु पछि नेपालको पार्टीमा जान सक्ने तर्क गरेका छन्। सांसद नरहेका केन्द्रीय सदस्यको हकमा उनीहरु यसरी जान पनि सक्लान् तर सांसदहरु पछि जालान् भन्ने अनुमान गर्न सकिँदैन।
किनकि अहिले पार्टी परित्याग आकर्षित नहुने गरी सांसद पदसहित नेपालको पार्टीमा जाने अवसर त्यागेर उनीहरु पछि सांसद पद गुमाउने गरी नेपालको पार्टीमा जालान् भन्ने मान्न सकिन्न।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij