आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘अभेद्य किल्ला’ पंजशीर तालिबानसामु कति दिन टिक्ला ? के उसले अन्तर्राष्ट्रिय समर्थन पाउला ?

  • प्रकाशित मिति : मङ्लबार, भदौ ८, २०७८



  • Afghan armed men supporting the Afghan security forces against the Taliban stand with their weapons and Humvee vehicles at Parakh area in Bazarak, Panjshir province on August 19, 2021. (Photo by Ahmad SAHEL ARMAN / AFP)

    काठमाडौं। तालिबानले अफगानिस्तान कब्जा गरेको छ । तर, देशका ३४ मध्ये ३३ प्रान्त मात्र उसको नियन्त्रणमा छन् । राजधानी काबुलबाट १२५ किलोमिटर टाढा पंजशीर घाटी अझै पनि स्वतन्त्र छ । अफगानिस्तानको यो प्रान्त अझैसम्म तालिबानको हातमा परेको छैन । तर, गएराती तालिबानले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै आफ्ना सयौं लडाकु पंजशीर कब्जा गर्न गएको बताएको छ । स्थानीय अधिकारीहरुले प्रान्त शान्तिपूर्ण रुपमा आफूहरुलाई नसुम्पिएपछि कब्जा गर्नको लागि लडाकु पठाइएको तालिबानले बताएको छ ।

    पंजशीर घाटी लामो समयदेखि तालिबान विरोधीको गढ रहिआएको छ । सोभियत युनियनविरुद्ध लड्ने मुजाहिदीन नेता अहमद शाह मसुदले यो घाटीलाई आफ्नो गढ बनाएका थिए । २० वर्ष पहिले पनि तालिबानले जब अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको थियो त्यतिबेला पनि पंजशीर घाटी भने स्वतन्त्र थियो । तर, अहिले परिस्थिति बदलिएको छ । तालिबान पहिलेभन्दा बलियो स्थितिमा छ । तालिबानले पंजशीर कब्जा गर्नको लागि घेराबन्दी सुरु गरिसकेको अवस्थामा पंजशीरका लडाकुहरुले कहिलेसम्म तालिबानको सामना गर्न सक्छन् भन्ने सबैभन्दा ठूलो प्रश्न हो ।

    अहिले अहमद शाह मसुदका छोरा अहमद मसुदले तालिबानविरोधी झण्डा उठाएर विद्रोहको नेतृत्व गरेका छन् । तर, अहमद मसुदसँग आफ्ना पिताको विरासतबाहेक अर्को कुनै छुट्टै ठूलो पहिचान छैन । उपराष्ट्रपति अमरुल्लाह सालेह पनि यहीँ छन् । पश्चिमी र तालिबान विरोधी सरकारहरुसँग नजिकको सम्बन्ध भएका उपराष्ट्रपति सालेहले मसुदसँग मिलेर तालिबानविरोधी मोर्चा खडा गर्ने कोसिस गरिरहेका छन् । तर, सुरक्षा विश्लेषकहरु भने पंजशीरले तालिबानलाई धेरै टक्कर दिन नसक्ने मान्छन् ।

    काबुलमा रहेका तालिकानसँग सम्बन्धित एक सूत्रले भन्यो ‘तालिबानले पंजशीरमा नियन्त्रण गर्न चाह्यो भने पंजशीर धेरै दिनसम्म टिक्न सक्ने छैन ।’ अफगानिस्तानमा रहिसकेका अमेरिकी खुफिया एजेन्सी सीआइए र अमेरिकी सुरक्षा परिषदमा आबद्ध रक्षा विश्लेषक पल डि मिलर भन्छन् ‘मलाई लाग्दैन कि पंजशीरले तालिबानलाई पंजशीर घाटीबाहिर कुनै किसिमको चुनौती दिन सक्छ । धेरै हदसम्म उसले आफ्नो स्वायत्तता कायम राख्न सक्छ ।’

    अमरुल्लाह सालेहले तालिबानविरुद्ध बनिरहेको गुटलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । तर, मिलर भन्छन् ‘मलाई लाग्दैन कि पंजशीरले कुनै किसिमको सहयोग पाउनेछ । यदि पंजशीरका जनताले विरोध कायम राख्न सक्छन् भने हुन सक्छ उनीहरुले कम दर्जाको अन्तर्राष्ट्रिय समर्थन पाउलान् ताकि अफगानिस्तानमा अल कायदा र अन्य आतंकवादी संगठनमाथि रजर राख्न सकियोस् । कुनै खास अन्तर्राष्ट्रिय समर्थन उनीहरुले पाउलान् भन्नेमा मलाई शंका छ ।’

    जर्जटाउन युनिभर्सिटीका सुरक्षा अध्ययनकी प्राध्यापक क्रिस्टिन फेयर भन्छिन् ‘मलाई लाग्दैन कि पंजशीर तालिबानसँग मुकाबिला गर्न सक्छ । अहिले तालिबानसँग भारी मात्रामा अमेरिकी हतियार छ । जसमध्ये ब्ल्याकहक हेलिकप्टर पनि छ । यतिमात्र होइन पाकिस्तानीले पनि निश्चित रुपमा तालिबानलाई सहयोग गर्नेछन् ।’

    क्रिस्टिनका अनुसार पंजशीर अहिलेसम्म टिकिरह्यो किनकि उसले धेरै हदसम्म भारत, इरान, ताजकिस्तान र केही अवसरमा अमेरिकी समर्थन प्राप्त थियो । तर, अब अफगानिस्तान तालिबानको हातमा आइसकेपछि स्थिति धेरै हदसम्म बदलिएको छ । अब चीन र रुसजस्ता देश तालिकानको साथमा छन् ।

    क्रिस्टिन भन्छिन् ‘अब रुसले तालिबानलाई सहयोग गरिरहेको छ । मलाई शंका छ कि ताजकिस्तान पनि अब यो खेलमा सहभागी हुन चाहनेछ । ताजकिस्तान बिना भारतले सहयोग कसरी पुर्याउँछ ? भारतले ताजकिस्तानको माध्यमबाट अफगान सेनालाई सहयोग पुर्याइरहेको थियो तर मलाई अब यसमा शंका छ ।’

    उता अहमद मसुदले भने पंजशीरका लडाकु अन्तिम साससम्म लड्ने बताएका छन् । तर विश्लेषकहरु भने तालिबानमाथि पंजशीरले कुनै किसिमको बढत हासिल नगरेको मान्छन् । यहाँका जनता भने अहमद शाह मसुदको साथमा छन् । अफगानिस्तानका अधिकांश क्षेत्रले नलडेरै तालिबानको अगाडि आत्मसमर्पण गरे तर पंजशीर डटिरहेको छ । यसको कारण बताउँदै क्रिस्टिन भन्छिन् ‘पंजशीरका जनता आफ्नो जमिनको लागि लड्न तयार छन् ।’

    विश्लेषकहरु पंजशीर तालिबानविरुद्ध विद्रोहको कुनै ठूलो केन्द्र वा गढ बन्न सक्दैन भन्ने मान्छन् । यसको कारण बताउँदै क्रिस्टिन भन्छिन् ‘अब पंजशीरबाहिर कुनै विरोध बाँकी नै छैन । यस्तो कुनै शक्ति अब अफगानिस्तानमा छैन जो तालिबानको विरुद्ध पंजशीरको समर्थनमा आउन सकोस् ।’ यही बीचमा तालिबानको एक दलले शुक्रबार पंजशीरका प्रतिनिधिहरुसँग वार्ता गरेका थिए । पंजशीरसँग सम्बन्धित केही सूत्रको दावीअनुसार स्थानीय पाकाहरुले रक्तपात रोक्नका लागि अमरुल्लाह सालेहसँग घाटी छोडेर जान भनेका छन् ।

    अहमद मसुद तालिबानसँग तालिबान सरकारमा सहभागी हुनको लागि वार्ता त गरिरहेका छन् तर उनले आत्मसमर्पण गरेका छैनन् । पंजशीरको निगरानी गरिरहेका एक सुरक्षा विश्लेषकका अनुसार मसुद सरकारमा ठूलो हिस्सेदारी चाहन्छन् । सूत्रका अनुसार अहमद मसुदले पछिल्ला केही महिनामा हतियार र गोलाबारुद जम्मा गरेका छन् र नयाँ लडाकु पनि तयार गरेका छन् । यदि तालिबान र पंजशीरका लडाकुबीच युद्ध भए रगतको खोलो बग्ने निश्चित छ ।

    यही बीच शुक्रबारको घटनाले तनाब अझै बढाएको छ । शुक्रबार पंजशीर समर्थन लडाकुले तालिबानमाथि आक्रमण गरेर तीन छिमेकी जिल्लालाई तालिबानको नियन्त्रणबाट छुटाएका छन् । यो लडाइँमा एक दर्जनभन्दा धेरै तालिबानी लडाकु मारिए र केही पंजशीरका लडाकुको कब्जामा आए । अफगानिस्तानमा जीतको उत्सव मनाइरहेका तालिबानीले यो खबर थाहा पाएपछि उनीहरुको आक्रोश बढेको छ ।

    उता तालिबान नेता खलील हक्कानीले भने अहमद मसुदले तालिबानको समर्थन गरेको दावी गरेका छन् । उनले अहमद शाह मसुदलाई सहिद पनि भने । यद्यपि पछि तालिबानले यसको खण्डन गरेको थियो । अहमत मसुदले भन्दै आएका छन् कि यदि कोही अफगानिस्तानमा शक्तिको बलमा कब्जा गर्छ भने पंजशीर उसको विरुद्ध उभिनेछ । अब प्रश्न यो हो कि पंजशीर उभिएको त छ तर हेर्न बाँकी छ कि तालिबानको अगाडि कति समयसम्म टिक्न सक्छ ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij