प्रकाशित मिति : सोमवार, भदौ १४, २०७८
काठमाडाैं। हिन्दुहरूका अनेक चाड र पर्वहरू प्रचलनमा छन्। परापूर्वकालदेखि निरन्तर चलिआएका यस्ता पर्वमध्ये एक हो, श्रीकृष्ण जन्माष्टमी। हिन्दुहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई लिने गरेका छन्।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका मानिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न अर्जुनलाई युद्धका निम्ति उत्प्रेरित गर्ने क्रममा श्रीकृष्णले व्यक्त गरेका विचार र दर्शनलाई ‘श्रीमद्भगवद् गीता’का रूपमा लिइन्छ । यो हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने र ‘भगवान्’का रूपमा पुजिँदै आएका श्रीकृष्णको जन्म हिन्दु पञ्चाङ्गअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो । यसर्थ उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिँदै आएको छ।
कृष्ण जन्माष्टमीलाई अनेक नामले बुझिन्छ । कसैले सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती पनि भन्ने गरेका छन्। कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजन–कीर्तन गरिन्छ । हिन्दु महिलाहरू दिनभर ब्रत बसी रातभर जाग्राम बस्ने चलन पनि छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij