प्रकाशित मिति : बिहिबार, भदौ १७, २०७८
बैतडी । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन्।
सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए। कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए। बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ।
विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन। उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ। विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ । रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए।रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij