आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसका तीन तन्नेरी महिला सभापति भन्छन्- राजनीति छोड्ने हैन, केही गरेर देखाउने हो

  • प्रकाशित मिति : सोमवार, भदौ २१, २०७८



  • कर्णाली प्रदेश र सुदूरपश्चिमको अछाम जिल्लामा गरी तीन महिला नेपाली कांग्रेको वडा सभापतिमा निर्वाचित भएका छन्।

    भदौ १८ गते भएको वडाको महाधिवेशनमा यी तीन महिला सभापति चुनिएका हुन्। तीनै महिला सभापति २६ वर्ष मुनिका तन्नेरी छन्।

    यी तीनमध्ये सबैभन्दा कान्छी छिन् १९ वर्षीय स्वस्तिका महत। उनी भदौ १८ गते भएको वडा अधिवेशनमा दुल्लु नगरपालिका–३ को वडा सभापतिमा चयन भएकी हुन्। राजनीति पृष्ठभूमिकै परिवारमा हुर्किएकी स्वस्तिकाले राजनीतिमै केही गर्ने सपना पालेको बताउँछिन्।

    घरकै वातावरणका कारण राजनीतिमा लाग्ने इच्छा उनलाई जागेको थियो। उनका बुवा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए। अघिल्लो अधिवेशनबाट कांग्रेसको जिल्ला कार्यसमितिको उपसभापति बनेका स्वस्तिकाका बुवा भुपेन्द्रजंग महतको दुई वर्षअघि मृत्यु भएको थियो।

    ‘मेरो बुवा लामो समयदेखि राजनीतिमा लाग्नुभयो, परिवारबीचको सामूहिक कुराकानीका बेला बुवाले आफ्नो राजनीतिक जीवन बिताउने क्रममा सुनाएका केही अनुभव र इच्छाले मलाई थप राजनीतिमा आकर्षित गरेको हो,’ स्वस्तिकाले भनिन्, ‘मेरो स्वयम् इच्छा पनि राजनीतिमा लाग्ने नै हो, अब बाटो सुरु भयो।’

    स्वस्तिकालाई आफ्ना बुवाले राजनीतिक जीवनमा पूरा गर्न नसकेका सपना आफूले पूरा गर्नुछ। वडाको नेतृत्व गर्न पाएपछि आफूमा त्यो दृढता जागेको उनले बताइन्।

    वडाको नेतृत्वबाट सुरु भएको आफ्नो राजनीतिक यात्रालाई जीवनभर निरन्तरता दिने उनको संकल्प छ। ‘बुवाले आफ्नो राजनीतिक जीवनको कुरा भन्नुहुन्थ्यो, ‘समाजमा चोरीडकैती, हत्यासिंहसा, भ्रष्टाचार, घरेलु हिंसा जस्ता विकृतिको अन्त्य गर्नेगरी अभियान गर्नुपर्छ’। तर बुवाको आफ्नो सपना पूरा नहुँदै मृत्यु भयो,’ स्वस्तिकाले भनिन्, ‘अब राजनीतिमा प्रवेश गरिहालेँ, यसैमा निरन्तरता दिएर बुवाको राजनीतिक सपना पूरा गर्ने हो।’

    आफूलाई पार्टीको स्थानीय नेतृत्व र पार्टीमा आस्था राख्ने व्यक्तिहरूले गरेको विश्वासलाई मर्न नदिन पनि राजनीतिक यात्रामा निरन्तरता दिने उनले बताइन्।

    नेपालगञ्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) पढेकी स्वस्तिका आफ्नो शैक्षिक यात्रा पनि राजनीतिसँगै निरन्तर राख्ने योजनामा छिन्।

    हामीकहाँ कुनै पनि दलको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व कम छ। संविधानले नै प्रतिनिधित्व सुनिश्चितता गरेकाले पछिल्लो समय स्थानीय तह र संसदमा भने महिलाको सहभागिता बढेको छ। त्यही पनि धेरैजसो महिलाले प्रत्यक्ष निर्वाचनमा अवसर पाउने गरेको देखिन्न। महिलालाई समानुपातिक कोटाबाट टिपेर ल्याउने गरिन्छ। कांग्रेसमा पनि प्रत्यक्षमा महिलालाई निकै कम टिकट दिइन्छ।

    अछामको मंगलसेन नगरपालिका–११ की जानकी रावल भने यो परम्पराको अन्त्य गर्ने सोचमा छिन्।

    जानकी २२ वर्षकी भइन्। उनले पनि १८ गते भएको नेपाली काँग्रेसको वडा तहको अधिवेशनबाट आफ्नो वडामा नेतृत्व लिन सफल भएकी छिन्।

    ‘अहिले मलाई स्थानीय र नेताहरुले गरेको विश्वासले सानो भएपछि नेतृत्वमा पुगिहालेँ, भोलिका दिनमा चुनाव लड्ने हैसियत बन्यो र मौका आयो भने म प्रत्यक्ष रूपमा चुनाव लड्ने आँट गर्छु,’ जानकीले भनिन्, ‘अहिले महिलालाई समानुपातिक कोटाबाट ल्याएर सांसद बनाएर फकाउने परम्परा छ, यो कुरा अन्त्य हुनुपर्छ। महिलाहरू सांसदमा प्रत्यक्ष लड्न पाउनुपर्छ।’

    जानकीको परिवार राजनीतिक पृष्ठभूमिको होइन। तर परिवारका सबै नेपाली काँग्रेसमा आस्था राख्छन्। चुनाव हुँदा प्रचारप्रसारमा पनि खुलेर लाग्ने गरेका छन्।

    उनको राजनीतिमा लाग्ने चाहना सानैदेखिको हो। त्यसैले उनले क्रियाशील सदस्यको लागि आफै फारम भरेकी थिइन्।
    ‘मेरो इच्छा पूरा गर्ने बाटोमा लाग्न स्थानीय महिला दिदीबहिनीहरूले पनि सहयोग गर्नुभयो, मैले सभापतिको लागि प्रस्ताव गरेपछि उहाँहरूले साथ दिनुभयो,’ उनले भनिन्, ‘महिलाको आवाजमा पुरूषको साथ पनि त्यतिकै रह्यो, मलाई हौसला बढ्यो।’

    अवसर पाएपछि राजनीतिमा लाग्ने, अन्यथा बाटो मोड्ने काम आफूले नगर्ने उनी बताउँछिन्। आफ्नो पढाइसँगै राजनीतिक यात्रालाई निरन्तरता दिने जानकीले बताइन्।

    जुम्लाको तिला गाउँपालिका–२ को वडा सभापतिमा चयन भएकी २६ वर्षीय सिता रावत जिल्लाकै पहिलो महिला सभापति हुन्। प्लस टु सकाएर कृषि पेशा अँगालेकी उनले सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउन थालेकी छिन्।

    ‘कति पछाडि पर्नु? केही सिक्नुपर्छ भनेर म राजनीतिमा लागिहालेँ। मलाई पार्टी र पार्टीका मान्छेले विश्वास गर्नुभयो,’ उनले भनिन्, ‘यहाँका महिलाहरूमा धेरै बोल्नु हुँदैन, पुरूषभन्दा माथिल्लो दर्जामा जानु हुँदैन भन्ने बुझाई छ। त्यो अत्य गर्न भूमिका खेल्ने मेरो लक्ष्य छ ।’

    उनले थपिन्, ‘राजनीतिमा मेरो आफ्नो व्यक्तिगत स्वार्थ भनेकै पछाडि पारिएका, चेतनाको कमी भएका गाउँका महिलालाई सचेत बनाउनु हो।’

    आफ्नो हक अधिकारको बारेमा थाहै नपाउने स्थानीय महिलाहरूलाई अधिकारबारे सचेत गराउने उनको इच्छा छ। केही थाहा नपाउने, केही बोल्नुहुँदैन, घुम्न हुँदैन, हामी धेरै बाठा भयो भने अरूले गिज्याउँछन् भन्ने सोच भएका महिलाहरुलाई अग्रसर बनाउने उनको योजना छ।

    सभापति बन्न आफ्नो गाउँका महिलाहरूको साथ रहेको उनी बताउँछिन्। उनले गरेको प्रस्तावमा महिलाहरूले पूर्ण रुपमा साथ दिए। उम्मेदवारी दिएका एकजना पुरूषले पनि पछि उनलाई नै सर्वसम्मत बन्न छोडिदिए।

    ‘सबैले विश्वास गर्नुभयो, एकजना पुरूषले सभापतिमा दावी गरिरहनुभएको थियो। मैले उहाँलाई महिलाहरूलाई पनि राजनीतिमा अवसर दिनुस् भनेर आग्रह गरेपछि उहाँले मान्नुभयो,’ उनले भनिन्।

    सिताको योजना पनि राजनीतिलाई निरन्तरता दिनु हो। ‘राजनीतिमा प्रवेश गरेकी छु, सुरूमा त सिक्नु नै पर्छ,’ उनी भन्छिन्, ‘राजनीतिमा आउने महिलालाई समाजले हेर्ने दृष्टिकोण केही फरक होला, तर मलाई यसले केही फरक पार्दैन। म निरन्तर लागिरहने छु।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij