प्रकाशित मिति : सोमवार, माघ १०, २०७८
प्रधानसेनापति प्रभुराम शर्मालाई आफु उपर पूर्वाग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले अवधि थप नगरेको आरोप लगाउँदै राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीदेखि दुबै सदनका अध्यक्ष समेतलाई गुहारेका उपरथी अनन्त कार्की आईतबार आफ्नो जिम्मेबारी बुझबुझारथ गरेर घरबिदामा बसेका छन् ।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा दरबन्दी भएका उपरथी कार्कीले त्यही कार्यरत सहायक रथी भोला थापालाई बुझबुझारथ गरेका हुन् ।
कुनै समय सिंगो नेपाली सेनामा हैकम चलाएका उपरथी कार्की आइतबार आफ्नै कार्यालयमा नव आगन्तुक जस्ता देखिएको त्यही कार्यरत एक सैन्य अधिकारीले बताए । उनका अनुसार कसैसँग केही बोलेनन् । कार्यालय आए । बुझबुझारथमा हस्ताक्षर गरे । अनि बरबिदामा बसको बताएर हिँडे ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले उपरथी कार्कीले आज जिम्मेबारी बुझाएको बताउँदै उनी पदावधि सकिएकाले नियमित प्रक्रिया अनुसार निवृत्तीभरण अवकाशमा गएको बताए । उपरथी कार्कीको बिदा भोलीबाट सुरु भएर २५ माघमा उनी नियमित अवकाशमा जानेछन् ।
आफ्नो पदावधि नथपिने भएपछि उपरथी अनन्त कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षामन्त्री समेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष उजुरी दिएका थिए । उजुरीमा नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षा मन्त्रालय र प्रतिनिधि तथा राष्ट्यि सभाका अध्यक्षलाई समेत बोधार्थ बनाइएको थियो ।
उनले उजुरी निवेदन दिएका निकायबाट कुनै सुनावाई र पहल नै नभएपछि उनी बिदामा बसेका हुन् ।
उपरथी अनन्त कार्कीले ४ माघको मितिमा उजुरी निवेदन दर्ता गरेका थिए ।
तर, सरकारले उनको उजुरीअघि नै ३० पुसकै मितिमा नेपाली सेनाका दुई उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको पदावधि थप गरेको छ । पदावधि थप गरिएको मन्त्रिपरिषदको निर्णयसहितको पत्र जंगी अड्डामा पुगेको सैन्य उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार यस विषयको जानकारी सम्बन्धित दुवै उपरथीलाई गराइएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले १६ पुसमै उपरथीद्वय खड्का र पाण्डेको पदावधि थप्न सरकारसमक्ष सिफारिस गरेका थिए । त्यसमा आफू नपरेपछि कार्कीले प्रधानसेनापतिविरुद्ध नै प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएका थिए । उनले उजुरीमा ३० पुसको बैठकमा छलफल भएको तर निर्णय नभएको उल्लेख गरेका छन् ।
तर, प्रधानसेनापति शर्माको सचिवालय स्रोतका अनुसार सोही मितिमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा सिफारिसअनुसार उपरथीद्वय खड्का र पाण्डेको एक कार्यकाल थपिएको उल्लेख छ ।
कार्कीले उजुरीमा वरीयतामा आफूभन्दा पछाडि रहेका दुई उपरथीलाई सिफारिस गरिनु गैरकानुनी भएको जनाएका थिए । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा उनले अवकाशभन्दा पाँच महिनाअघि नै कार्कीसहित खड्का र पाण्डेको पदावधि थप्न सिफारिस गर्ने जंगीअड्डाले निर्णय गरेको उजुरीमा उल्लेख गरेका छन् । तर, कार्यकाल सकिनु १० महिनाअघि नै गरेको सिफारिसलाई प्रधानसेनापति शर्माले पिएओजसँगको सल्लाहमै उल्टाएका हुन् ।
कार्कीविरुद्ध सेनाभित्रै असन्तुष्टि र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेपछि उनी विवादमा तानिएका थिए । तर, आफ्नो पदावधि थपको सिफारिस उल्ट्याउनुलाई कार्कीले ‘विशिष्ट श्रेणीको अधिकृत उपर पूर्वग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले गरिएको विधि र प्रक्रिया विपरितको कदम भएको’ भनेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij