प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७८
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।
नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको ब्यूरोका एक अधिकारीले अनलाइनखबरलाई बताए ।
ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनमा उनको तस्वीरसहितको विज्ञापन देखिएपछि सोधपुछका लागि कार्कीलाई ब्यूरोमा बोलाइएको थियो । त्यसक्रममा उनले आफूले क्रिप्टोकरेन्सीको कारोबार नगरेको बताएकी थिइन् ।
नायिका कार्कीले कुरा गर्दै पनि आफ्नो फोटो दुरुपयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरिएको बताइन् । उनले भनिन्, ‘मैले दोषी पत्ता लगाएर कारबाही गर्न निवेदन पनि दिएकी छु ।’
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले अवैध मुद्राको कारोबार गरे नगरेको यकिन भइनसकेकाले अनुसन्धानका लागि मोबाइल नियन्त्रणमा लिइएको छ । ती अधिकृतले भने, ‘उहाँको मोबाइलबाट विभिन्न एप्लिकेसनमार्फत अवैध मुद्राको कारोबार भएको छ/छैन भनेर डिजिटल जाँच हुनेछ ।’
आइतबार चाहिँ कार्कीलाई प्रहरीले आवश्यकता परेको बेला हाजिर हुने गरी श्रीमान् आयुष्मान देशराज जोशीको जिम्मामा छाडेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij