प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७८
काठमाडौँ । पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुड्खु-तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन्।
सारदा अधिकारीको शैलुङ कन्ट्रसनले ठेक्का लिएको ७ वर्षसम्म पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले दोस्रोपटक फोहोर बिसर्जन ठप्प पारेका छन्। यतिका समयसम्म कालोपत्रे नगर्ने ठेकेदारलाई सरकारले कारबाही नगरेपछि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन्।
सरकारवारा गठित टाक्स फोर्सका अधिकारीले समेत तत्काल बाटो कालोपत्रे गर्न दिएको निर्देशनलाई वेवास्ता गरेको ठेकेदारको अटेरीपनले गर्दा राजधानी पूर्ण रूपमा दुर्गन्धित हुन पुगेको छ। स्थानीय तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारीले अटेरी ठेकेदारका कारण बाध्य भएर फोहोर रोक्नुपरेको बताउनुभयो ।
ठेकेदारले सरकारकै संरक्षण पाएको कारण हालसम्म काम नगरेको आरोप लगाउँदै फोहोर व्यवस्थापन अवरुद्ध गर्न बाटोमा बसेका स्थानीयले भने, ‘जबसम्म बाटो कालोपत्रे हुँदैन, तबसम्म फोहोर लैजान दिदैनौं।’
बल प्रयोग गरेर फोहोर लैजान्छौं : प्रजिअ रिजाल
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बल प्रयोग गरेर भए पनि फोहोर विसर्जन गर्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो–‘हामीले आजसम्म संवादका माध्यमबाट समस्या समाधान हुन्छ कि भन्ने सोचेका थियौं तर भएन । अब बल प्रयोग गरेर भए पनि फोहोर विसर्जन गर्नेछौं ।’
उहाँले आज शुक्रबारबाट बल प्रयोग गरेर भए पनि फोहोर लैजाने तयारी भएको जानकारी दिँदै भन्नुभयो– ‘प्रहरी प्रशासनलाई निर्देशन दिएका छौं, अब कुनै पनि वहानामा फोहोर रोकेर हुँदैन तत्काल विसर्जन गर्न भनेका छौं ।’
उहाँले सडक कालोपत्र नगरेकै कारण फोहोर रोक्न नहुने जिकिर गर्दै भन्नुभयो– ‘फोहोर रोकेर समस्या समाधान हुँदैन । बाटो बनाउने विषयमा तत्काल वार्ता गर्नुपर्छ ।’
एक सातासम्म फोहोर उठन नसक्दा पनि प्रशासनले चासो नदेखाएको स्थानीय तहको आरोप छ । उनीहरूले सरकारले गठन गरेको टाक्स फोर्सले समेत खासै काम गर्न नसकेको गुनासो गरे । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij