प्रकाशित मिति : बुधबार, चैत्र ३०, २०७८
महेन्द्रनगर। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ ।
कञ्चनपुरका भूमिपुत्र मानिने राना थारु समुदायका अगुवा पनि दशकौँदेखि बसोबास रहे पनि यहाँ स्थानीय तह राज्य संयन्त्रमा आफ्नो बलियो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन् ।
मुलुकभरमध्ये सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा मात्रै राना थारु समुदायको बसोबास रहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा लालझाडी गाउँपालिकामा राना थारु समुदायबाट मदनसेन बडायकले अध्यक्ष र कृष्णपुर नगरपालिकामा रमिता रानाले उपप्रमुखको जिम्मेवारी सम्हालिन् ।
त्यसैगरी ९२ वटामध्ये केही वडाध्यक्ष पनि राना समुदायले नेतृत्व सम्हालेका छन् । लालझाडीमा अध्यक्ष बडायक माओवादी केन्द्रबाट र उप्रमुख राना नेकपा एमालेबाट निर्वाचित भइन् ।
कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले राना थारु समुदायमा पनि शिक्षित र योग्य उम्मेदवार रहेको बताइन् । ‘अढाइ वर्ष हामीले कानुन, कार्यविधि बनाउन र कोभिडका कारण काम गर्न पाएनौँ ।’
उपप्रमुख रानाले भनिन्, ‘राना थारुको कला, संस्कृत र परिचानका लागि कृष्णपुर नागरपालिकाले बजेट नै विनियोजन गरेर विविध कार्यक्रम सञ्चालन गर्यौँ ।’ आगामी निर्वाचनमा एमालेबाट पुनः उपप्रमुख उम्मेदवार बन्ने बताउँदै रानाले राना थारु समुदायलाई सूचीकृत गराउन पनि आफूहरुले पहल गरेको जानकारी दिइन् ।
कञ्चनपुरमा लालझाडी गाउँपालिका, बेलौरी, पुर्नवास, शुक्लाफाँटा, कष्णपुरलगायत सबैजसो पालिकामा राना थारुको बसोबास रहेको छ । ‘हाम्रो समुदायलाई पनि पालिका माथि ल्याउन दलहरुले पनि उम्मेदवार दिनुपर्छ ।’
शुक्लाफाँटा नगरपालिका–१ का दिनाराम रानाले भने, ‘सधैँभरि अरुलाई मात्रै भोट हाल्ने नियति कुनै समुदायले भोग्नु ठीक कुरो होइन ।’ उनले राजनीतिक दलहरुले राना समुदायका नागरिकलाई पनि उम्मेदवार बनाउन सुझाव दिए ।
यहाँ थारुको २५.७ प्रतिशत बसोबास रहेको पाइन्छ । कञ्चनपुरबाट राना थारु समुदायबाट संविधानसभामा पुरन राना, कृपाराम राना र सुदूरपश्चिम प्रदेशसभामा श्यामलाल रानाले प्रतिनिधित्व गरेका छन् ।
यहाँबाट लबरु राना मन्त्रीसमेत भइसकेको राना थारु अगुवाको भनाइ छ । नेपाल राना थारु समाजको जिल्ला अध्यक्ष प्रेमवती रानाले पार्टी जुनसुकै भए पनि राना थारुको उपस्थिति पालिकामा बढाउनुपर्नेमा आफूहरु छलफल गरिरहेको बताइन् ।
‘पार्टी जो भए पनि हाम्रो समुदायको उपस्थिति बढाउन पहल गर्छौं ।’ उनले भनिन्, ‘कैलालीभन्दा पनि रानाथारुको बसोबास कञ्चनपुरमा बढी छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij