प्रकाशित मिति : आइतवार, बैशाख २५, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न सोधेका छन्।
कांग्रेसका कार्यकर्ताप्रति आफ्नो सहानुभूति रहेको भन्दै आइतबार भरतपुरमा आयोजित चुनावीसभामा ओलीले यहाँका कांग्रेसी नेताको पीर विसाउने ठाउँ नभएको जिकिर गरेका छन्।
‘म कांग्रेसका नेताहरूलाई सोध्न चाहन्छु, कार्यकर्तालाई केही छैन विचरा कतिको मुटु धड्किएको होला, कति पिर परेको होला? प्रकाश सपूतको गीत जस्तै पिर बिसाउने ठाँवै नै पाइनँ भने जस्तै कांग्रेसका कार्यकर्ताले कसरी र कहाँ पिर बिसाउने? विचरा छाति समातेर बस्नुभएको होला,’
उनले कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याएको आरोप लगाए।
‘के हेरेर बसेका छन् कांग्रेसका नेता, कार्यकर्ताहरू? पार्टी त सिद्धियो त,’ उनले भने।
अध्यक्ष ओलीले मतदातालाई धम्क्याउनेलाई मत नदिनसमेत आग्रह गरे।
उनले जनता तर्साउनेहरूलाई मत नदिन भनेका छन्, ‘पहिले पहिले धम्क्याउनेहरूलाई अझै पनि धम्क्याउने बानी गएको रहेनछ। अब धम्क्याएर काम चल्दैन। तपाईंहरूलाई भन्न चाहन्छु, कसैले धम्क्याउँदैमा दुर्घटना हुँदैन। जनतालाई तर्साउनेहरूलाई मत नदिनुस्।’
सत्ता गठबन्धनले आचारसंहिता उल्लंघन गर्दै जनतालाई तर्साएर मत मागेको आरोप पनि उनले लगाए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij