प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७, २०७९
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ।
अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो।
घटनास्थलमा रहेका आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोज कुमारका अनुसार सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ।
सडक भासिएको क्षेत्रमा कारको नम्बर प्लेट पनि फेला परेकोले कार पनि पहिरोमा परेको हुन सक्ने अनुमान छ।
अहिले प्रहरीहरूले कारको खोजी जारी राखेका छन्।
‘एउटा पुरूषको शव फेला परेको छ,’ उनले भने, ‘शव कसको भन्ने खुलेको छैन। पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको कार पहिरोमा परेको हुन सक्ने अनुमान छ।’
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परेको बताए।
मोटरसाइकल चालक भने सकुशल छन्। कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो।
‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलिअलि मात्रै देखिएको छ। कारमा कति मान्छे थिए भन्ने खुलेको छैन,’ उनले भने।
घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij