आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यार्सा उत्पादनमा अहिलेसम्मकै उच्च ह्रास, भारत भासिँदै बझाङका युवा

  • प्रकाशित मिति : बिहिबार, असार २, २०७९



  • बझाङ । जीवन बुटीको नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्तै पाइने जिल्लामा उत्पादनमा ह्रास आउन थालेको छ ।

    जिल्ला वन कार्यालयको तथ्याङ्कलाई आधार मान्ने हो भने २०७० सालमा ३ सय ७२ केजी संकलन भएको यार्सागुम्बा २०७१ सालमा ३ सय ३८ किलोमा झरेको थियो । २०७३ सालमा यो परिमाणमा व्यापक गिरावट भएर २ सय ३७ केजीमा समेटियो ।

    यस्तै, यार्सा संकलन सुरु भएदेखि हाल सम्मको उत्पादनलाई हेर्दा सबैभन्दा कम २०७८ सालमा १४८ केजी ३७ ग्राम मात्र संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । २०७० सालमा ३७२ किलो यार्सा संकलन भएकोमा ९ वर्षमा झण्डै २२४ किलोले कमी आई १४८ किलोमा सीमित भएको छ ।

    यार्सा उत्पादन र संकलन कमी भएसँगै स्थानीयको जीवनशैलीमा यसको प्रत्यक्ष असर देखिएको छ । उत्पादनसँगै मूल्य घट्दा अब यहाँको अवस्था नौ वर्षअघिको जस्तो रहेन ।

    नौ वर्षअघि विदेश जान पूर्ण बन्द भएकोमा अहिले भने जिल्लाका अधिकांश मानिस रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका छन् । केही स्थानीय भने मजदुरी, खेतपाती र पशुपालनमै फर्किएका छन् ।

    ‘पहिला वर्षमा ४/५ लाख यार्साबाट आइहाल्थ्यो, १० जनाको परिवारलाई वर्षभरी पुग्थ्यो’ यार्साको उत्पादन घटेस“गै मजदुरीको पुरानै पेशामा फर्किएका दौलीचौरका दनु बोहरा भन्नुहुन्छ, ‘अब पहिला जस्तो यार्सा पनि पाइँदैन, पाइहाले पनि मूल्य छैन । त्यही भएर पुरानो पेशामा फर्कियौं ।’

    यसअघि यार्सा लगायतका जडिबुटीको बिक्रीबाट मनग्य आम्दानी भएपछि यार्सा संकलन क्षेत्रका धेरै जसोले खेतीपाती र पशुपालनका काम समेत छोडिसकेका थिए । स्थानीय धलौनका मिलन धामी भन्नुहुन्छ, ‘पहिले भेडा बेचिसकेकाहरू पनि अहिले फेरि भेडा पाल्न थालेका छन्, धेरैजसो त भारत तिरै जान्छन्, यार्साको मौसममा घर आउछन् ।’

    यार्साको उत्पादन घटेसँगै अर्काे वर्ष यार्सा टिपेर पूरा गर्ने गरी सदरमुकाममा बनाउन सुरु गरिएका घरहरू समेत दुई/तीन वर्षदेखि अधुरै छन् । यार्सा टोलका नामले परिचित सदरमुकाम चैनपुरको प्रशासन रोडका अधिकांश घरका पिल्लरमा खिया लागिसके ।

    यार्साको जथाभावी संकलन, जंगल खन्नु, जंगलमा आगो लगाउने जस्ता मानवसिर्जित कारणले यार्सा उत्पादन घटेको डिभिजन वन कार्यालयका कार्यालय प्रमुख कर्णबहादुर खाती बताउनुहुन्छ ।

    यार्सा उत्पादन हुने स्थानमा हजारौ मानिसहरूको आवतजावत, प्लाष्टिक र शिसाजन्य फोहोर, जुत्ता चप्पल, काम नलाग्ने कपडाहरू जथाभावी फाल्ने गर्दा प्रदुषण बढ्दै गएकाले पनि यार्साको उत्पादन घटेको उहाँको तर्क छ ।

    यसबाहेक हिमपात कम हुने र जलवायु परिवर्तनको असरका कारण पनि यार्सा उत्पादनमा ह्रास आएको उहाँको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij