आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सेनालाई २५ सय रोपनी जग्गा दिने निर्णय

  • प्रकाशित मिति : शुक्रबार, साउन ६, २०७९



  • पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ २५ सय रोपनी जग्गा दिने निर्णय गरेको छ।

    नगरले वडा नम्बर ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायिक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो। नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५ सय रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए।

    उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजंग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो।

    नगरले इन्द्रेश्वर थल्पु सामुदायिक वनअन्तर्गत प्रयोग भइरहेको कित्ता नम्बर २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन प्रक्रिया थालिएको जनाएको छ। यसका लागि जग्गा दिनेबारे आवश्यक कानुनी प्रक्रियासहित थप निर्णय गर्न जिल्ला प्रशासन कार्यालयलाई नगरको निर्णयसहित कागजात पठाइएको छ।

    यस्तै नगरले आफ्नो निर्णयबारे कालिजंग गणलाई जानकारी गराएको छ। सेनालाई प्रतिष्ठान सञ्चालनार्थ सामुदायिक वन क्षेत्रको जमिन दिने विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग छलफल गर्ने तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहित वन मन्त्रालय जानुपर्ने जनाएको छ।

    ‘नगरको निर्णय प्राप्त भएको छ, हामी सरोकारवालासँग छलफल गरी वन मन्त्रालयसँग थप समन्वय गर्नेछौं,’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्।

    नगरको निर्णयमा उक्त जग्गामा कुनै पनि संरचना बनाउन नपाइने, खुला राख्नुपर्ने, स्थानीय उपभोक्तालाई हिँड्डुल तथा घाँस–दाउरा गर्न दिनुपर्ने, भवन बनाउन आवश्यक परे निजी जग्गा खरिद वा अधिग्रहण गर्नुपर्ने उल्लेख गरिएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। उनका अनुसार उक्त जग्गाको खुला स्थानमा सेनाले पार्क, उद्यान, प्रतिक्षालय तथा बगैंचा निर्माण गर्न सक्नेछ।

    प्रतिष्ठान सञ्चालनका क्रममा सेनाले अस्पताल पनि निर्माण गर्ने भनेको छ। सेनाले यहाँ स्थापना गर्ने अस्पतालमा आकस्मिकबाहेक अन्य उपचारमा भने सर्वसाधारणको पहुँच नहुने बताइन्छ। पनौतीमै भारत सरकारको अर्बौं रूपैयाँको सहयोगमा नेपाल प्रहरीको प्रतिष्ठानको निर्माण कार्य भइरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij