आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘२६ हजार कैदीबन्दी आफैंमा एउटा फोर्स हो’

  • प्रकाशित मिति : शनिबार, साउन २८, २०७९



  • मुलुकभर कैदीबन्दीको संख्या २६ हजार छ । यो एउटा ‘फोर्स’ हो । औषधि बाहेक, सरकारले एउटा कैदी बराबर वर्षको ५० देखि ६० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ । यति खर्च गरेर उसलाई त्यहाँ थुनेर राखिएको छ ।

    कारागारभित्रको परिवेश र परिस्थिति सहज हुँदैन । कारागार भनेको एकदम दुःख हुने ठाउँ हो । जेलभित्र रहँदा कडा अनुशासन पालना गर्नुपर्छ, तर त्यहाँ अनुशासन र आचरण विपरीत काम गरेकै मान्छे हुने गर्छन् । त्यसैले जेलभित्र अनुशासन कायम गराउनु पनि चुनौतीपूर्ण काम हो ।

    यसै कारणले कारागारको अवधारणालाई परिवर्तन गरेर यसलाई सुधार गृहमा लैजाने नीति अघि सारिएको हो । कारागारलाई बन्दी गृह होइन, सुधार गृहमा लैजानुपर्छ भन्ने सरकारको नीति हो । तर, नीति अनुसार अहिलेसम्म काम भएको छैन ।

    मैले २००५ सालदेखिका कारागार सुधार सम्बन्धी प्रतिवेदनहरू हेरें । त्यतिबेलाकै प्रतिवेदनमा कारागारलाई सुधार गृहका रूपमा परिणत गर्दै लैजानुपर्छ भन्ने उल्लेख छ । कारागारमा बस्ने राम्रो ठाउँ हुनुपर्छ । सहज रूपमा सुत्ने कोठा हुनुपर्छ, रासनको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने जस्ता कुराहरू प्रतिवेदनमा उल्लेख छन् ।

    पछि २०१५ सालको प्रतिवेदनमा पनि यिनै कुरा उल्लेख छन् । त्यसयता भएका विभिन्न अध्ययन र अनुगमनमा पनि यही विषय उल्लेख गरिएका छन् । म कारागार विभागको नेतृत्वमा भएको बेला गरेका अनुगमनमा पनि यस्तै समस्या थिए । सरकारले कारागारलाई सुधार गृहको रूपमा रूपान्तरण गर्ने नीति त ल्यायो, तर त्यसका लागि के–के गर्ने भन्नेमा ध्यान दिन सकेन ।
    मुलुकमा प्रधानमन्त्री त्यस्तो छैन, जो कारागार नबसेको होस् । प्रधानमन्त्री शेरबहादुर देउवा कारागार बस्नुभएको छ, गृहमन्त्री बालकृष्ण खाँण पनि कारागार बस्नुभएको छ । कारागारमा नबसेको मन्त्री को छ अहिले ? कुनै पनि मन्त्री त्यस्तो छैन होला, जो कारागार नबसेको होस् ।

    तर, कारागारको अवस्था चाहिं उहाँहरू थुनामा बस्दा जस्तो थियो, अहिले पनि त्यस्तै छ । तात्विक भिन्नता छैन, यो एकदमै दुःखदायी र तितोसत्य हो । त्यस कारणले कारागारको जुन अवस्था छ, यसलाई सुधार्न सरकार प्रतिबद्ध भएर लाग्नुपर्छ । सरकारको योजनामा आउने तर बजेटमा नपर्ने जुन अवस्था छ, यसलाई अन्त्य गर्नुपर्छ ।

    सुधारगृहमा त एउटा खेल मैदान हुनुपर्ने होला, सीप विकासका कार्यक्रमहरू हुनुपर्ने होला । उनीहरूलाई खुला कारागारमा लैजानुपर्ने गरी कुनै तयारी छैन । किन गरिंदैन भन्दा कारागार विभागमा जाने मान्छे पनि हेपिएर मात्रै त्यहाँ पुग्छ ।

    कारागारमा काम गर्नेहरूलाई लो–प्रोफाइलको ठानिन्छ । कारागारको डीजी आयो, भेट्ने समय छैन भनिन्छ । ए कारागारको मान्छे आयो, ठिक छ । यस्तो भन्ने होइन, कारागारलाई प्राथमिकता दिने हो । कारागारमा गएर काम गरौं–गरौं भन्ने लाग्ने खालको वातावरण बनाउनुपर्ने हो । कारागार सुधारका लागि विभागमा जान प्रतिस्पर्धा चल्नुपर्ने अवस्था बनाउनुपर्ने हो । तर त्यो छैन ।

    अभावै अभावको कारागार

    कारागारमा अहिले जति पनि विकृति छन्, त्यसको पृष्ठभूमि भनेको अभाव हो । अभावले नै जन्माएको हो विकृति । रासन अभाव छ, बस्ने ठाउँ छैन, राम्रो ओढ्ने–ओछ्याउने छैन, ओत लाग्ने ठाउँ छैन । खादिंदै बस्नुपर्ने स्थिति छ ।

    नीतिगत हिसाबमा कारागारलाई सुधार गर्न त्यहाँका मानिसलाई मानवोचित व्यवहार हुनुपर्‍यो । मानवअधिकारका न्यूनतम मापदण्डहरू लागू हुने वातावरण हुनुपर्‍यो । यसको एकदम कमी छ, अभाव छ ।

    अहिले मुलुकभर कैदीबन्दीको संख्या २६ हजार छ । यो भनेको एउटा ‘फोर्स’ हो । यो ‘फोर्स’ चाहिं बन्दी बनाएर राखिएको छ । औषधि बाहेक, सरकारले एउटा कैदी बराबर वर्षको ५० देखि ६० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ । यति खर्च गरेर त्यहाँ बाँधेर, थुनेर राखेको छ ।

    सुधार गृहमा लैजाँदा खुला कारागारको अवधारणा अघि बढ्छ । खुला कारागारमा लैजाँदा हाम्रा ठूल्ठूला मेघा प्रोजेक्टमा उनीहरूलाई काममा लगाउन सकिन्छ । मलाई लाग्छ कारागारमा भएकामध्ये ६० प्रतिशत मानिस ४० वर्षभन्दा मुनिका छन् । त्यो अध्ययन गर्नुपर्‍यो ।
    मुलुकभर कैदीबन्दीको संख्या २६ हजार छ । यो एउटा ‘फोर्स’ हो । औषधि बाहेक, सरकारले एउटा कैदी बराबर वर्षको ५० देखि ६० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ । यति खर्च गरेर उसलाई त्यहाँ थुनेर राखिएको छ ।

    यो भनेको सक्रिय ‘फोर्स’ हो । त्यो फोर्सलाई एउटा मापदण्ड बनाएर द्रुतमार्गको निर्माणमा काम दिनुस् । जलविद्युत्मा काम दिनुस्, सुरुङ मार्ग र अन्य ठूला भवन निर्माणमा काम दिनुस् । यो अवधारणा अघि बढाउँदा एकातर्फ खुला भएर उनीहरूले काम गर्न पाउँछन् ।

    उनीहरूको डिप्रेसन जस्तो समस्या पनि कम भएर जान्छ । उनीहरूको सीप पैसा र उत्पादनमा रूपान्तरण हुन्छ । तर, यो अवधारणामा अघि बढ्न कसैलाई चासो छैन । यो काम अहिले बिरालोलाई कसले घण्टी बाँध्ने भने जस्तो भएको छ । लेखिन्छ तर काम हुँदैन ।

    गृह मन्त्रालयले कारागार विभागमा महानिर्देशक वा अन्य कर्मचारी पठाउँदा अवकाश हुने बेलामा, कारबाहीस्वरुप, पेलेर पठाउने होइन, राम्रो क्षमता भएकोलाई सम्मानस्वरुप पठाउने गर्नुपर्छ । यसको लागि त्यहाँभित्र काम गर्ने वातावरण बनाउन सुविधा वृद्धि गर्नुपर्छ ।

    तलब स्केल बढाउने हो कि, दुई वर्ष काम गरेपछि विदेश जाने अवसर दिने हो कि ? ताकि मान्छे प्रतिस्पर्धा गरेर कारागार व्यवस्था विभागमा जाओस् । त्यो खालको वातावरण बनाउनुपर्‍यो । त्यो हेपिएको ठाउँ भएकाले त्यहाँ गएपछि कर्मचारी नुन खाएको कुखुरा जस्तो उँघेर बस्छन् । अन्यत्र सरुवा कहाँ मिलाउने भन्नेमा मात्रै उसको ध्यान हुन्छ ।

    मेरो बुझाइ त के हो भने कारागारमा भयङ्कर अवसर छ । किनभने हजारौं कैदीबन्दीलाई काममा लगाउन सकिन्छ । १५ हजार कैदीको दिनमा राष्ट्रिय आम्दानीमा हिसाब गर्ने हो भने प्रतिव्यक्ति ८०० रुपैयाँसम्म आम्दानी हुन्छ । यसरी कमाएको पैसा उसले परिवारलाई देला, काममा पुर्‍याएको योगदानले ऊ चाँडै छुट्ला अनि पो हुन्छ सुधारगृह ।

    विश्वका ठूल्ठूला कारागार हेरौं त । त्यहाँका जस्तै अभ्यास गरेर अघि बढ्ने हो भने भारतबाट मजदुर ल्याएर काममा लगाउनै पर्दैन । चीनमै अधिकांश सुरुङ मार्ग कैदीले बनाएका छन् । त्यहाँका संरचना कैदीले नै बनाउँछन् । यो सम्भावना हामीसँग पनि छ ।

    दुर्भाग्य राम्रो नीति आए पनि अहिलेसम्म कारागारको समस्या समाधान हुनसकेको छैन ।देशभरका कारागारभित्र करिब ६ हजार मानिस मुढा बुन्छन् । यी मुढाको पनि एउटा बजारीकरण हुन्छ । कर्मचारीले कारागारमा बनेका कपडा लगाउने, टोपी अनिवार्य कारागारमा बुनेको लगाउने भनेर सरकारले भन्ने हो भने यसबाट उनीहरूलाई प्रोत्साहन हुन्छ ।

    अपराध त उसले एउटा कालखण्डमा गर्छ, तर ऊ सधैंभरि अपराधी भइरहने त होइन नि ! यो अवधारणाले हामीले हेर्नुपर्छ । तपाईं हामी पनि रिस उठ्दा बच्चालाई गालामा एक झापड हान्छौं । तर, सधैंभरि त गालामा हानेको हुँदैन । कुनै एउटा अवस्थामा बाध्यतावश हान्छौं । त्यसैले अपराध पनि त्यसरी नै भएका हुन्छन् ।

    उनीहरू पनि नागरिक हुन् । उनीहरूलाई पनि त्यहाँभित्र मानवीय व्यवहार गर्नुपर्‍यो । कारागारभित्रको व्यवस्थापनमा पनि समस्या छ । हत्या गर्नेदेखि सामान्य चोरी गर्नेसम्म सबैलाई एकै ठाउँमा राखिएको छ । जघन्य अपराध गर्ने र सामान्य चोरी गर्ने एकै ठाउँमा हुँदा थप समस्या पैदा हुन सक्छ ।

    लागूऔषध दुव्र्यसनी छ भने अरूलाई पनि दुव्र्यसनी बनाउन सक्छ । उसले त्यो कुरा सिकाउन सक्छ । त्यसैले कैदीकै सुरक्षाका लागि पनि वर्गीकरण गरेर राख्नुपर्ने हो, त्यसका लागि ठूलो बजेट पनि चाहिन्न । मात्र इच्छाशक्ति चाहिने हो ।

    जेलभित्र डिप्रेसनको समस्या बढेको छ । डिप्रेसनको समस्या हटाउने मुख्य कुरा व्यस्त हुनु हो, त्यसैले कैदीलाई व्यस्त बनाइराख्नुपर्छ । काउन्सिलिङ गर्ने प्रकृतिका कार्यक्रम गर्नुपर्छ । यी सबै समस्याको समाधानको उपाय भनेको खुला कारागार अवधारणालाई कार्यान्वयनमा ल्याउनु हो ।

    जेलमा स्नातक पास गरेका मानिस पनि छन् । म हुँदा योग्यता भएका व्यक्तिको रिपोर्ट पनि निकालेको थिएँ । त्यहाँभित्र क्षमतावान व्यक्ति पनि छन् । समस्याको मुख्य जड भनेको गृह मन्त्रालयले कारागारलाई प्राथमिकतामा नै राख्दैन ।

    सरकार जसको सुकै होस्, ध्यान कैदीबन्दीको छुट र सरुवाहरूमै हुन्छ । जेल सुधारको विषयमा कसैले कारागारका कर्मचारीलाई केही भन्छ जस्तो लाग्दैन ।

    (गृह प्रशासनमा लामो समय काम गरेको अनुभव र कारागार व्यवस्थापन विभागका पूर्वमहानिर्देशक दाहाल अवकाश प्राप्त सह–सचिव हुन् । दाहालसँग गरेको कुराकानीमा आधारित ।)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij