प्रकाशित मिति : आइतवार, भदौ ५, २०७९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको शनिबार राति उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले दुःख ब्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले लेख्नु भएको छ, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं । म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’
प्रधानमन्त्री देउवाले पनि एक ट्विट गर्दै भन्नु भएको छ, “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्विट गर्दै भन्नु भएको छ, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एक ट्विट गर्दै भन्नु भएको छ, ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij