प्रकाशित मिति : आइतवार, कार्तिक ६, २०७९
दाङको बबई नदीमा डुबेर बेपत्ता रहेका दुई बालिकाको शव २४ घन्टापछि फेला परेको छ।
दंगीशरण गाउँपालिका वडा नं. २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर– १ की १५ वर्षीया गोमा चन्द नुहाउने क्रममा शनिबार दिउँसो १ बजेतिर बगेर बेपत्ता थिए। सल्यानकी चन्द आफन्तको घरमा गएकी पाहुना हुन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ गोलटाकुरीमा पर्ने सिमलकुना घाटनजिकै बबई नदीमा डुबेकै स्थानबाट दुबैको शव निकालिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको शव धेरै गहिराइबाट निकालिएको प्रहरीले जानकारी दिएको छ।
नुहाउन गएका तीन बालिकामध्ये एक जना भने पौडिएर ज्यान जोगाउन सफल भएकी थिइन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले तीनमध्ये दुई बालिका दिउँसो १ बजेतिर डुबेर बेपत्ता भएको खबर प्रहरीलाई स्थानीयले दिएको जानकारी दिएका थिए। लगत्तै उनीहरूको खोजीमा प्रहरी र स्थानीय खटिएपछि शनिबार दिनभर खोज्दा फेला परेका थिएनन्।
आइतबार बिहानैदेखि फेरि उनीहरूको खोजी सुरू भएको थियो। त्यसका लागि गोताखोर पनि बोलाइएको थियो। खोजी गर्ने क्रममा आइतबार दिउँसो साढे ३ बजेतिर दुई बालिकाको शव एकै ठाउँमा फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय पौडीबाज पनि लागेका थिए।
तिहारको पूर्व-सन्ध्यामा दुई बालिकाको एकै साथ डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। आसपासका गाउँका स्थानीय त्यही भएर देउसी-भैलोसमेत खेल्न नगएको एक जना स्थानीयले बताए।
एक साता पहिलेमात्रै सितलपुर पुलभन्दा केही माथिबाट बबई नदी तर्ने क्रममा एक जना व्यक्तिको बगेर मृत्यु भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij