आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पढ्ने उमेरमा केटाकेटी हुर्काउँदै जुम्लाकी किशोरी

  • प्रकाशित मिति : शनिबार, मंसिर १०, २०७९



  • जुम्लाको हिमा गाउँपालिका–२, ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी भइन् । उनको काखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन् । कक्षा ८ मा पढ्दै गर्दा उनको विवाह भएको हो । १५ वर्षमा बिहे गरेकी उनी एक वर्षपछि आमा बनिन् । परम्परा र सामाजिक संस्कारका कारण बसन्तीजस्तै जुम्लाका धेरै किशोरी आमा बनेका छन् ।

    बालविवाह जुम्लाका ग्रामीण क्षेत्रमा डरलाग्दो छ । विवाह गरेको एक वर्षमै आमा बनेपछि वसन्तीको पढाइ बीचमै छुटेको छ । कलिलो उमेरमै आमा बनेका अधिकांशले पढाइ बीचैमा छोडेका छन् । सानै उमेरमा आमा बन्दा उनीहरूमा घरधन्दाको बोझ थपिएको छ ।

    सिन्जा गाउँपालिका–६ की नन्दा बुढा १४ वर्षको उमेरमै एक सन्तानकी आमा बनिन् । १३ वर्षको कलिलो उमेरमै बिहे गरेकी उनी अहिले विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउँछिन् । ‘सानै उमेरमा विवाह गर्दा सन्तानको पालनपोषणमा समस्या छ,’ उनले भनिन्, ‘बालबालिकाको पठनपाठन पनि राम्रो बन्न सकेको छैन ।’

    पछिल्लो समय जुम्लामा २० वर्ष नपुग्दै आमा बन्नेको संख्या अधिक छ । जनचेतनाको कमी, देखासिकी, गरिबीलगायत कारणले कलिलो उमेरमै विवाह गर्ने चलन धेरै रहेको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् ।

    कम उमेरमै विवाह गर्दा विभिन्न सामाजिक समस्या देखिन थालेको उनले बताइन् । महिला वा पुरुष दुवै २० वर्ष नपुगी गरिने विवाह कानुनी रूपले बालविवाह ठहरिने अधिवक्ता नन्द खत्रीले बताए । प्रत्येक स्थानीय तहका गाउँदेखि टोल टोलमा बालविवाह हुने गरेको उनले जनाए । अहिले १५ वटा बालविवाह गरेर सम्बन्धविच्छेद लागि उजुरी परेको उनको भनाइ छ ।

    एसईईपछि विवाह गर्ने किशोरीको संख्या अधिक छ । विकट गाउँमा २० वर्ष नपुगेरै बिहे गर्ने र बच्चा जन्माउने प्रचलन नौलो भने होइन । चन्दननाग नमुना माध्यमिक विद्यालय जुम्लाकी शिक्षिका समरीता बुढाले बाल विवाह रोक्न अभियान चलाए पनि सफल हुन नसकेको बताइन् ।

    जुम्लामा प्रत्येक गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले पनि बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । गैरसरकारी संस्थाले पनि बालविवाह न्युनीकरण सम्बन्धी काम गरिरहेका छन् ।

    उमेर नपुग्दै बिहे गरेर बच्चा जन्माएको देख्दा दुःख लाग्ने गरेको सिंजा–६ जोडु गाउँकी महिला स्वास्थ्य स्वयंसेविका धनसरी बुढाले बताइन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका नाताले आफूले समाजमा बाल विवाह रोक्न र कम उमेरमा आमा नबन्न सबैलाई सल्लाह दिँदै आएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij