आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आफ्नाे भवन नहुँदा वार्षिक १५ लाखसम्म भाडा तिर्न बाध्य स्थानीय तह

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५, २०७९



  • बझाङ। देश संघीयतामा गएकाे ८ वर्ष पूरा भइसक्न लागिसकेकाे छ । तर पनि देशका अधिकांश जिल्लाका स्थानीय तहहरूले विविध समस्याका कारणले आफ्नै प्रशासनिक भवन बनाउन अझैसम्म सकेका छैनन् । जसकाे उदाहरणका रूपमा बझाङ जिल्लालाई लिन सकिन्छ । जहाँ १२ वटा स्थानीय तहहरुमध्ये ७ वटा पालिकाहरुले मात्रै आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

    अन्य ५ वटा पालिकाले भने आफ्नो पालिकाको भवन निर्माण गर्न अझै सकेका छैनन् । वार्षिक रुपमा लाखौं रुपैयाँ भाडा तिर्दै आएका छन् । जिल्लाको सबै भन्दा विकट र भौगोलिक हिसाबले टाढा रहेको साईपाल गाउँपालिकाले वार्षिक रुपमा १० लाख भाडा तिर्दै आएको छ ।

    कार्यालय संचालनका लागि स्थानीयको घर भाडामा लिएर काम अघि बढाउनु परेको साईपाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयाे । उहाले पालिकामा अहिलेसम्म इन्टरनेट सेवा समेत नभएकाे बताउनुभयाे ।

    उता केदारस्युँ गाउँपालिकामा समेत भवन अभावका कारण भाडाको घरबाट नै सेवा प्रवाह गर्ने कार्य भइरहेकाे छ । तत्कालीन समयमा रायल गाविसको भवनमा गाउँपालिकाको कार्यालयले काम कारबाही अघि बढाएको छ । साेही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले अन्य शाखाहरु देखि वडा कार्यालय र स्टोर संचालन लगायतका कामका लागि घर भाडामा लिएर काम अघि बढाएकाे बताउनुभयाे ।

    वार्षिक रुपमा करिब पालिका भरीको १० देखि १५ लाख रुपैयाँ भाडामा जाने गरेको छ । पालिकाको भवन निर्माणका लागि आवश्यक प्रकृया अघि बढाई निर्माणको कार्य भइरहेको उहाँले बताउनुभयाे । पालिकाका वडा कार्यलयहरुको भवन समेत निर्माणको कार्य अन्तिम चरणमा रहेको पनि उहाँले बताउनुभएकाे हाे । भवन निर्माण भएपछि पालिकालाई ठूलो राहात हुने उहाँले बताउनुभयाे ।

    त्यस्तै, जिल्लाको बुंगल नगरपालिकाले समेत वार्षिक रुपमा ८ लाख भन्दा बढी घर भाडा तिर्दै आएको बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीले जानकारी दिनुभयाे। अहिले नगरपालिकाले भवन निर्माणका लागि हाडकोटमा जग्गा लिएर भवन निर्माणको डेन्डर भइसकेको उहाँले बताउनुभयाे ।

    यता दुर्गाथली गाउँपालिकाले समेत तत्कालीन चौधारी गाविसको भवनबाट सेवा प्रवाह गरी रहेको छ । गाउँपालिकामा प्राप्त भवन अभावका कारण वार्षिक ६ लाख बराबर भाडा तिरेर विभिन्न शाखाहरु संचालन गरी रहेको प्रमुख प्रशासकीय अधिकृत देविप्रसाद जोशिले बताउनुभयाे । पालिकाको प्रशासनिक भवनका लागि डिपिआर भएर भवन निर्माणको काम अघि बढिसकेको उहाँले बताउनुभयाे ।

    साथै सुर्मा गाउँपालिकाले समेत वार्षिक रुपमा ७ लाख भन्दा बढी भाडा तिरेर सेवा प्रवाह गर्दै आएको छ । तत्कालीन दौलिचौर गाविसको भवनमा प्राप्त ठाउँ नभएका कारण घर भाडा लिएर पालिकाको काम अघि बढाएको पाईएको छ । तर वडा नम्बर १ र २ ले भने आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेका भएपनि वडा नम्बर ४ र ५ को भवन निर्माणको काम भने अन्तिम चरणमा रहेको छ । वडा नम्बर १ को ब्यवस्थापन गर्न बाँकी रहेको र पालिकाको भवन निर्माणका लागि डिपिआर भएर काम सुरु गरिएको छ ।

    जिल्लाको थलारा गाउँपालिकाले भने १ महिना अघिदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको पालिकाका इन्जिनियर संगित रोकायाले बताउनुभयाे । १ करोड ६८ लाख २७ हजार ३ सय ८२ रूपैयाँकाे लागतमा २०७९ कार्तिक ५ गते जागृति मुनाल जे.भि.ले निर्माण कार्य सम्पन्न गरी पालिकालाई हस्तान्त्रण गरेको हो । भुइँतलामा निर्माण भएको यो भवनमा १ वटा हल ९ वटा कोठा, महिला पुरुषका लागी २/२ वटा सौचालय रहेका छन् । पालिकाको कार्य सम्पादनका लागि भवन प्राप्त नभएका कारण तलो थप्नका लागि टेन्डर प्रकृया अघि बढी सकेको इन्जिनियर रोकायाले बताउनुभयाे।

    वार्षिक रुपमा करिब ५ लाख भन्दा बढी घरभाडा तिर्दै आएको थलारा गाउँपालिकाले अब घरभाडा तिर्नु नपर्ने प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितले बताउनुभयाे । पालिकामा घर भाडामा पनि लिन समस्या भएकाे उहाँले बताउनुभयाे । ब्यक्तिहरुको घर नपाएर थलारा बहुमुखी क्याम्पसका भवनहरु भाडा लिएर पालिकाको कामहरु अघि बढाएकाे उहाँकाे भनाइ छ । अहिले आफ्नै भवनबाट सेवा प्रवाह गरेपछि सेवाग्राहीहरुलाई समेत सहज भएको उहाँकाे तर्क छ ।

    यता मष्टा गाउँपालिकामा पनि भवन अभावका कारण भूकम्पले चर्कीएको भवनबाट सेवा प्रवाह गर्नुपरेको छ । पानी आउदा चुहिने र साँघुरा कोठाहरुबाट सेवा प्रवाह गर्नु परेको पालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताउनुभयाे । पुरानो भातेखोला गाविसको भवनबाट सेवा प्रवाह भइरहेको उहाँकाे भनाइ छ । पालिका भरीका वडाहरुदेखि आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका भवनहरु जीर्ण अवस्थामा रहेकाे उहाँले बताउनुभयाे । पालिकाको भवन निर्माणका लागि जग्गाको जोहो नै नभएको उहाँले बताउनुभयाे । अहिले बल्ल तल्ल जग्गा दान गर्ने महान ब्यक्ति पाएपछि पालिकाको नाममा जग्गा पास गरेकाे उहाँकाे भनाइ थियाे । अस्पातल र पालिकाको भवन निर्माणका लागि डिपिआर भएर बजेटको माग गरिएको उहाँले बताउनुभयाे ।

    जिल्लाको खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिकाले भने आफ्नै भवनहरुबाट सेवा प्रवाह गरी रहेका छन् । तल्कोट गाउँपालिकामा सुविधा सम्पन्न भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । खप्तडछान्ना गाउँपालिकामा भने करिब ५ करोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण भइ सेवा प्रवाह सुरु भइसकेको पालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले बताउनुभयाे ।

    जिल्लाका २ वटा नगरपालिका मध्ये जयपृथ्वी नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरी रहेको छ बुंगल नगरपालिकाले भवन निर्माणको कार्य भर्खर अघि बढाएको छ । १० वटा पालिकामध्ये खप्तडछान्ना, थलारा, तलकोट, छविसपाथिभेरा र विथ्थडचिर गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरी रहेको जिल्ला समन्वय समितिका संयोजक नरबहादुर बोहराले बताउनुभयाे।

    बुंगल नगरपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका, साईपाल गाउँपालिका र सुर्मा गाउँपालिका भने भाडाकै भरमा संचालनमा रहेका उहाँकाे भनाइ थियाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij