आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महोत्तरीमा डढेलोले सखाप हुँदै वन

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १७, २०७९



  • महोत्तरी। मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ। डढेलोबाट स-साना बिरुवा नष्ट हुन थालेका छन्। यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ।

    बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा तथा पूर्वपश्चिम राजमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ।

    बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन कार्यालय (बाँके, टुटेश्वर, गणन्ता र गौरीडाँडा) छन्। यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ। यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोष्ट पनि छन्।

    बर्दिबास-५ टुटेश्वरका बुद्धिराज काफ्ले भन्छन्, “डढेलो लगाउनेहरू कहिल्यै समातिएनन्।” डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न नसकेको उनको भनाइ छ।

    डढेलोका साथै वन क्षेत्रमा सुरक्षा गस्ती नगर्दा रुखका लाथ्रा काट्ने क्रम ह्वात्तै बढेको छ। साझेदारी वनका समिति र कार्यालय एवं सामुदायिक वन उपभोक्ता समिति पनि वन सम्पदा सुरक्षामा नभई उपभोगमा मात्र लागेका गुनासो छ। उनीहरुको उदासिनताले वन उजाड हुँदै गएको गौशाला-१० लक्ष्मीनियाँका लक्ष्मीप्रसाद महतो बताउँछन्।

    “दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भने। वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ। डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ। गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ। जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ।

    जिल्लामा राष्ट्रिय वन, सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत गरी २४ हजार चार सय ६५ हेक्टर क्षेत्रफलमा वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ। पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन्।

    डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको गणन्ता सबडिभिजन वन कार्यालय बर्दिबास-५ माइस्थानका कार्यालय प्रमुख सहायक वन अधिकृत रामसुन्दर साह बताउँछन्।

    वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। “वन क्षेत्रभित्र सशस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टसमेत छन्, यी सबैको संयुक्त गस्ती बढाइनुपर्छ”, उनले भने। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij