प्रकाशित मिति : शनिबार, फाल्गुन २७, २०७९
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को जटायु रेस्टुरेण्टमा राखिएका १० गिद्धलाई भोलि प्रकृतिमा छाडिने भएको छ । गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट जटायु रेस्टुरेण्टको खोरमा राखिएका गिद्धलाई प्रकृतिमा छाडिने तयारी गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका र त्यस केन्द्रमा जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक वासस्थानमा पुनःस्थापना गर्नका लागि विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको गिद्ध पुनःस्थापना कार्ययोजनाअनुसार नमूना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेष्टुरेण्ट क्षेत्रमा छाड्ने तयारी गरिएको संरक्षण विज्ञ डिबी चौधरीले बताए । “छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यका बारेमा अनुसन्धानका लागि प्राविधिकले काम गरिरहेका छन्”, उनले भने, “खोरमा राखिएका सबै गिद्धको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ, सबैको स्वास्थ्य राम्रो रहेको र लगाइएका ‘सेटलाइट ट्याग’ ठीक अवस्थामा रहेको छ ।”
जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुरेण्टमा गरिएको छ । उनीहरूले सँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको सङ्ख्या बढाउनका लागि सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ । जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटलाइट ट्याग लगाएर छाडने गरिएको संरक्षण विज्ञ चौधरीले बताए । “खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ”, उनले भने, “यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ ।”
लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेष्टुरेण्ट सुरु गरिएको हो । त्यो रेष्टुरेण्टमा बूढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ । नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेण्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ५९ गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जङ्गलमा छाडिएको छ ।
जङ्गली ४० गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जङ्गलमै छाडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरूप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेण्ट पिठौलीमा आठ प्रजातिको गिद्धको बासस्थान रहेको छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij