प्रकाशित मिति : शुक्रबार, चैत्र ३, २०७९
उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ ।
उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।
उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ।
मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अंकित कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्नेछ। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन्।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो।
उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ। मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij