आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

९ अर्ब ८४ करोड खर्चिंदा पनि २९ सभाहल निर्माण अधुरै,ठूलो रकम खर्चिएर बनाइएका संरचनामा महिना पनि नपुग्दै देखिए समस्या

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०८०



  • काठमाडौँ सघन सहरी तथा भवन निर्माण विभागले निर्माण थालेका सभाहल अझै पूरा हुन सकेका छैनन् । ७ प्रदेशमा ४३ सभाहल निर्माण गर्ने विभागको योजना रहेकामा अहिलेसम्म ११ वटा मात्र बनेका छन् । बनिसकेका सभाहलमा पनि समस्या देखिन थालेको छ । १८ वटा सभाहल निर्माणाधीन छन् भने १४ वटा जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन तयारीलगायत प्रारम्भिक चरणका काममै अल्झिएको बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख छ ।

    ४३ सभाहलमध्ये २९ को निर्माणका लागि १८ अर्ब १६ करोड १० लाख रुपैयाँ लागत अनुमान थियो । तर आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तसम्म ९ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ खर्च भए पनि काम सकिएको छैन । काम सकिएर सञ्चालनमा आएका कतिपय सभाहलमा पानी चुहिन थालेको बताइएको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र त्यसैको एउटा उदाहरण हो । उद्घाटन भएको एक वर्ष नपुग्दै सभाहल चुहिन थालेको छ । गएको चैत १७ मा वर्षा भएपछि ध्यान केन्द्रको छतका विभिन्न ठाउँबाट पानी चुहिएको थियो ।

    ०७५ वैशाख १७ मा बुद्ध पूर्णिमाका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको सभाहल गत जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । पहिलो चरणको काम अनक अर्घाखाँची, बाबुल जेभीले २८ करोड १३ लाख रुपैयाँ र दोस्रो चरणको काम लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले ३४ करोड ९५ लाख रुपैयाँमा ठेक्का लिएका थिए । ललितपुरको गोदावरीमा ३ हजार सिट क्षमताको सभाहलमा पनि निर्माण भएर सञ्चालन आएको महिना नबित्दै पानी चुहिने समस्या देखिएको थियो ।

    ०७८ वैशाख ३१ मा हतारहतार उद्घाटन गरिएको सम्मेलन केन्द्रमा सोही जेठमा पानी चुहिएको थियो । सहरी विकास मन्त्रालयले समिति बनाएर पानी चुहिएकोबारे छानबिन गरेको थियो । पछि सुधार गर्ने सहमति भए पनि थप प्रक्रिया अघि बढाइएन । उक्त सभाहल निर्माणमा ८० करोड २७ लाख रुपैयाँ खर्च भयो । यसको ठेक्का केसी–समानान्तर जेभीले लिएका थिए । सभाहल निर्माण गर्न १४३ रोपनी १ आना ३ पैसा जग्गा उपलब्ध गराउने निर्णय भएकामा ४३ रोपनीमा मात्र निर्माण गरिएको हो । बाँकी जग्गा अतिक्रमण भई घर टहरा निर्माण गरिएकाले सार्वजनिक जग्गा संरक्षण गर्न उचित प्रबन्ध गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

    लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र । उद्घाटन भएको एक वर्ष नपुग्दै सभाहल चुहिन थालेको छ । गएको चैत १७ मा वर्षा भएपछि ध्यान केन्द्रको छतका विभिन्न ठाउँबाट पानी चुहिएको थियो।

    चितवनको रत्ननगर, सौराहा र भरतपुरमा क्रमशः ६ सय, १ हजार र २ हजार सिट क्षमताका ३ वटा सभाहल निर्माणका लागि १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । रत्ननगरमा ०७३ कात्तिक २५ मा सम्झौता भई कार्यारम्भ भएको सभाहल ०७६ कात्तिक २२ मा निर्माण सकिनुपर्ने हो । सुरु म्यादको शतप्रतिशत थप हुँदासमेत आर्थिक वर्ष ०७८/७९ मा ८० प्रतिशत मात्र भौतिक प्रगति छ । धेरै काम अझै अधुरै रहेको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।

    सौराहा सभाहलको ६५ प्रतिशत र भरतपुर सिटीहलको ४० प्रतिशत मात्र भौतिक प्रगति छ । चितवनमा उद्योग संघको परिसर, नारायणी कला मन्दिर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा समेत सभाहल विगतदेखि सञ्चालनमा छन् । ‘२० किलोमिटरको दूरीभित्र नै तीन नयाँ सभाहल निर्माणमा अर्बौं खर्च गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

    कैलालीको धनगढीमा ९८० सिट क्षमताको सभाहल निर्माणका लागि २८ करोड ५५ लाख रुपैयाँ ठेक्का गरिएको हो । ०७५ माघ २ मा ठेक्का सम्झौता भएअनुसार ०७८ असार ९ मा सम्पन्न गर्नुपर्ने थियो । सम्झौता अवधिभित्र निर्माण नसकिएपछि ०७९ असार २९ सम्म म्याद थपिएको थियो । सभाहल निर्माण सकिएर कार्यालयले कार्य स्विकारे पनि संरचनाको स्वामित्व र सञ्चालन मोडालिटीमा स्पष्टता नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रायः सभाहल हचुवामा बनाइएको छ । राजनीतिक दबाबका कारण आवश्यक नभएको ठाउँमा पनि सभाहल निर्माण गरिएको सहरी विकास मन्त्रालय स्रोतको भनाइ छ । ‘कति ठाउँमा त सभाहल आवश्यक नै छैन, तर पनि कसैको दबाबमा परेर निर्माण गरिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैले धेरै सभाहल आवश्यकताभन्दा पनि राजनीतिक पहुँचका भरमा बनाइएका छन् ।’

    यता झापाको दमकमा १ हजार ८ सय सिट क्षमताको सभाहल ३६ महिनाभित्र निर्माण सक्ने गरी ०७४ असार २० मा ठेक्का सम्झौता भएको थियो । यसको ठेक्का रकम २८ करोड ४० लाख रुपैयाँ छ । यसको म्याद चौथो पटक थपेर ०७९ भदौसम्म पुर्‍याइयो । लागत बढाएर ३२ करोड ११ लाख रुपैयाँ पुर्‍याइएको छ । ‘तर सभाहल निर्माणको अन्तिम चरणमा पुग्दासमेत आन्तरिक सजावट, फर्निचर र साउन्ड सिस्टमलगायतको काम र पार्किङका लागि जग्गाको सुनिश्चितता गरिएको देखिएन,’ प्रतिवेदनले भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij