प्रकाशित मिति : शुक्रबार, बैशाख १५, २०८०
सागर ओली,काठमाडौँ । प्रहरीले ललितपुर जिल्लामा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
नक्कली नोटसहित दुई जना गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-११ घर भएका ३६ वर्षीय जिवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका-१ घर भएका २१ वर्षीय सुकुटे भन्ने भुपाल बिकलाई नक्कली नोट र विभिन्न दशीका समानसहित प्रहरीले पक्राउ गरेको छ ।
सुरेश तामाङले गोदावरी नगरपालिका-१३ झरुवारासीस्थित किराना पसलमा सामान किनेर जाली नोट दिएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरीपरिसर ललितपुरबाट खटिएको प्रहरीले सोही पसल अगाडिबाट नेपाली एक हजार दरको नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान गरी जम्मा ३ थान नक्कली जस्तो देखिने नोटसहित आइतबार पक्राउ गरेको हो
थप अनुसन्धानको क्रममा भुपाल बिकको समेत संलग्नता रहेको खुल्न आएपछि ललितपुर गोदावरी नगरपालिका-११ बज्रवाराहीबाट उनलाई नेपाली पाँच दरको नोट १ थान र सय दरको नोट १ थान गरी जम्मा २ थान नक्कली जस्तो
देखिने नोटसहित फेला पारी बिहीबार प्रहरीले पक्राउ गरेको हो । साथै भुपाल बिकको गोदावरी नगरपालिका-१३ स्थित डेरा समेत तलासी गर्दा मुद्रा सम्बन्धी कसुरमा प्रमाणमा लाग्ने फोटकपी/प्रिन्टर मेसिन १ थान, नेपाली एक हजार, पाँच सय र एक सय दरका नोटको फोटोकपी गरिएको कागजातहरू र नक्कली जस्तो देखिने विभिन्न नोटपानाहरू समेत फेला पारी बारमद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij