प्रकाशित मिति : शुक्रबार, बैशाख १५, २०८०
सागर ओली,काठमाडौँ । प्रहरीले बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।
झापा जिल्लाको मेचीनगर नगरनगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोईन ७० ग्रामसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तार्केश्वर गाउँपालिका-३ बस्ने ३० वर्षीय सविन परियार, सिन्धुली दुधौली नगरपालिका-११ बस्ने ३० वर्षीय खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका-५ बद्रीटोल बस्ने २३ वर्षीय विक्रम दनुवार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-६ ईमाडोल सितल हाईटबाट अवैध लागूऔषध गाँजा ३ किलो र नगद १ लाख १३ हजार रूपैयाँसहित दोलखा विभु घर भई ललितपुर सितल हाईट बस्ने ४५ वर्षीय पेम्बा शेर्पा सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय मुबारक सल्मानी र सोही उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय सन्तोष खटिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ माझिटार चेकपोष्टबाट अवैध लागूऔषध फेनेरामाइन लेखिएको एम्पुल २ थान, लागूऔषध जस्तो देखिने कुनै नाम नलेखिएको पहेलो एम्पुल ४ थान, सेतो रङको एम्पुल २ थान र गाँजा
जस्तो देखिने पदार्थ ५ ग्रामसहित मोरङ वेलबारी नगरपालिका-७ बस्ने २९ वर्षीय सुजन ठकुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७३० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij