प्रकाशित मिति : मङ्लबार, बैशाख २६, २०८०
भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ।
योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या १० पुगेको छ।
यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
टोपबहादुर रायमाझी भने फरार छन्। मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सातदोबाटोस्थित उनको घरमा पुगेको थियो।
तर उनी फेला परेका छैनन्। उनलाई प्रहरीले खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पनि उनको खोजी गर्न टोली परिचालन गरेको छ।
उनी भारत पुगेको हुनसक्ने प्रहरीको आशंका छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij