आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १, २०८०



  • झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो

    बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए । बैठकपश्चात् जानकारी दिँदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताए । उनले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको खोजी गरी यथास्थानमा पुनःस्थापना गर्नेसमेत सहमति भएको जानकारी दिए । उनले भने, “दशगजा क्षेत्र खाली गराउने र क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत गर्न हामी दुवै देशका जिल्ला प्रशासकहरु सहमत भयौँ ।”

    यसैगरी, बैठकमा नेपाली टोलीको नेतृत्व गर्नुहुने मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्दरूपमा छलफल भएको बताए । उनले हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव तस्करी, चोरी निकासीलगायतका महत्त्वपूर्ण विषयमा नियन्त्रणका लागि भारतीय पक्षलाई नेपालका तर्फबाट आग्रह गरिएको जानकारी दिए ।

    “सीमा क्षेत्रमा भइरहेका समस्याका बारेमा हामीले भारतीय पक्षको ध्यानाकर्षण गरायौँ”, प्रजिअ यादवले बैठकका विषयमा भने, “हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव बेचबिखन, चोरी निकासी जस्ता आपराधिक घटना नियन्त्रणमा सहकार्य गर्न उहाँहरू सहमत हुनुभयो ।”

    बैठकमा भारतीय पक्षबाट सीमा क्षेत्रमा हुनसक्ने आतङ्ककारी गतिविधि, हतियार तस्करी, नक्कली नोट, मदिरा र गाईवस्तु तस्करीलगायतका समस्याको समाधानका लागि नेपाली पक्षको ध्यानाकर्षण गराइएको थियो । सीमा क्षेत्रमा सवारी साधनको नियमित चेकजाँच, अपराधी पक्राउका लागि सूचनाको आदानप्रदान गर्ने विषयमा समेत बैठकमा छलफल भएको झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

    सशस्त्र सीमा बल (एसएसबी) को १९औँ बटालियनको ठाकुरगञ्जस्थित कार्यालयमा उक्त बैठक भएको थियो । बैठकमा नेपाली पक्षबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेल, सशस्त्र प्रहरी बलको २ नं गणका गणपति देवराज अर्याल, झापाका प्रहरी उपरीक्षक रेग्मी, मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेललगायतको सहभागिता रहेको थियो ।

    भारतीय पक्षबाट बैठकमा किसनगञ्जका सहायक डिस्ट्रिक्ट मेजिस्ट्रेट एके गुप्ता, एसएसबीको ४१औँ बटालियन कमान्डर एससी नागी, १९ औँ बटालियन कमान्डर मधुकर अमिताभ, अररियाका वन विभागका अधिकारी नरेश प्रसादलगायतको सहभागिता रहेको थियो । भारतसँग झापाको एक सय १८ किलोमिटर र मोरङको ५३ किलोमिटर सीमा क्षेत्र रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij