शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सम्पत्ति लोनमा राखेर पुर्ब गृहमन्त्री राम बहादुर थापा बादलको छोरालाई २ करोड ५० लाख दिएको राम शरण के सी को बयान ।

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २१, २०८०



  • काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका आरोपित रामशरण केसीले सम्पत्ति बन्धकी राखेर प्रतीक थापालाई रकम दिएको स्वीकारेका छन् ।

    जिल्ला अदालत, काठमाडौँमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज पन्थी (जाहेरीकर्ता)बाट लिएको एक करोड समेत गरी साढे २ करोड रुपैयाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई बुझाएको बताएका हुन् ।

    केसीले बयानमा भनेका छन्, ‘केशव दुलालले मलाई नक्सालस्थित निलगिरी रेस्टुरेन्टमा पैसा लिएर आउनू भन्नुभयो । प्रतीक थापालाई नदेखाई पैसा दिँदैनौ भनेपछि दुलालले फोन गरेर बोलाए । प्रतीक थापाले दुलाललाई दिए हुन्छ भनेपछि नगदै दिएका हौँ । दुलालले कारको डिक्की खोलेर राख्न लगाउनुभयो । त्यसपछि लकडाउन भयो ।’

    केसीले भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बोलाएर आफूलाई केशवप्रसाद दुलालसँग चिनाइदिएको बताएका छन् । शरणार्थीको काम छ, भरपर्दो मान्छे केशवप्रसाद दुलाल हो भनेर रिजालले विश्वास दिलाएको भन्दै केसीले बयानमा आफूलाई टेकनाथ रिजालले मान्छे खोज्न भनेको समेत बताएका छन् । उनलाई रिजालले भने, ‘तपाईँका कोही आफन्त साथीभाइ अमेरिका जाने छन् भने मलाई भेटाइदिनुस् ।’

    त्यसपछि भुटानी मानव अधिकार सङ्गठनको परिचयपत्र बाँड्ने काम भएको उनी बताउँछन् । आफ्नो र चिनजानका ३४ जनालाई परिचयपत्र दिइएको र त्यस क्रममा प्रतिव्यक्ति २ देखि ३ लाखका दरले करिव ९० लाख रुपैयाँ उठाएको केसीले बताएका छन् ।

    २०७६ को मंसिरसम्ममा परिचयपत्रको आधारमा भुटानी शरणार्थीको सुचीमा छुट दर्ताको फाराम भर्ने काम भएको र त्यसपछि हरेकसँग १० लाख रुपैयाँका दरले रकम उठाइएको उनी बताउँछन् ।

    त्यसपछिको कुनै एक दिन आफूलाई केशवप्रसाद दुलालले साँखु जाने बाटोमा रहेको रेष्टुरेन्टमा बोलाएको र दुलालको साथमा प्रतीक थापा समेत रहेको केसीले बताएका छन् । त्यहाँ पुगेपछि केशव दुलाल र प्रतीक थापाले, ‘अब काम निस्कियो, पैसा चाहियो भनेर रकम मागे । त्यसपछि मेरो घर दृष्टि बन्धक राखेर डेढ करोड २०७७ असोजमा नगदै बुझिलिएको हुँ । त्यसको राजश्व तिरेको रसिद मसँग छ । पोखराबाट प्रेमराज पन्थीले एक करोड रकम ल्याएपछि हामीले नक्सालमा केशव दुलाललाई नगदै दिएका हौँ ।

    केसीले अदालतमा गरेको बयान अनुसार, काम नबनेपछि र ब्याजले थेग्न नसकेपछि प्रेमराज पन्थीले २ मंसिर २०७८ मा अख्तियारमा उजुरी दिएका हुन् । भोलिपल्ट रामशरण केसीले केशवप्रसाद दुलाल लगायतको नाम मुछेर उजुरी दिए । अख्तियार प्रमुख प्रेमकुमार राईले उनीहरूलाई बोलाए ।

    अख्तियार प्रमुखसँग गरेको गुनासोबारे उनीहरूले बयानमा भनेका छन्, ‘हामी पीडित छौ, हजुर गृह सचिव भए देखिको पालामा निस्किएको काम अहिलेसम्म भएन, हामीले दिएको पैसा काम नहुने भए फिर्ता दिलाइदिनुपर्‍यो ।’

    जवाफमा अख्तियार प्रमुख राईले ‘म कुरा गरिदिन्छु’ भनेर सान्त्वना दिएको केसीले बयानमा उल्लेख गरेका छन् । ‘त्यसको नौ महिनासम्ममा पनि केही कारबाही नभएपछि हामी अपराध महाशाखा, नयाँबानेश्वरमा निवेदन लिएर गयौँ,’ उनले भने

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij