प्रकाशित मिति : शुक्रबार, असार २२, २०८०
चितवन राष्ट्रिय निकुञ्जभित्र एक सिंगे गैंडा मारेको अभियोग लागेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन्।
निकुञ्जले उपलब्ध गराएको जानकारीअनुसार २०५५ सालको कात्तिक २८ गते गस्तीमा रहेका कर्मचारीहरुले चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब १.५ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा पारी खाग काटेर लगेको अवस्थामा मृत गैंडा भेटेका थिए।
अनुसन्धान अधिकारी तोकी उक्त घटनाको अनुसन्धान गर्दै जाँदा १७ जना प्रतिवादीहरूको संलग्नता रहेको देखिएको थियो। तिनै १७ जना मध्येका एक थिए कालिका नगरपालिका-२ बस्ने भीमबहादुर थापा क्षेत्री। उनी मिने साइँला नामले चिनिन्थे।
निकुञ्जले मीनबहादुर थापा क्षेत्रीका छोरा हाल कालिका नगरपालिका वडा नम्बर-२ बस्ने मिने साइँलालाई दस वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना ठहर गरी २०५७ माघ २५ गते फैसला गरेको थियो।
घटना भएको २५ वर्षदेखि लुकीछिपी बस्दै आएका उनलाई निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त टोलीले बिहीबार साँझ पौने सात बजेतिर कालिका-२ बाट पक्राउ गरेको हो।
उनलाई शुक्रबार जिल्ला कारागार भरतपुरमा बुझाइएको चितवन निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij