आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘विप्लव समूह’ अझै काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती

  • प्रकाशित मिति : मङ्लबार, साउन २, २०८०



  • काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको दुई वर्षभन्दा धेरै भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ फागुन २० मा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

    सरकारले प्रतिबन्ध फुकुवा गरे पनि सुरक्षा निकायले चाहिँ ‘विप्लव समूह’लाई अझै पनि सुरक्षा चुनौतीको रूपमा हेरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको चुनौती सूचीमा छ–‘विप्लव समूह ।’ सरकारका कामकारबाही र व्यवस्थाप्रति असन्तुष्टि जनाएर विरोध प्रदर्शन गर्ने गरेको हुनाले विप्लव नेतृत्वको नेकपा काठमाडौँ उपत्यकाको ‘सुरक्षा चुनौती’ रहेको प्रहरीको निष्कर्ष छ ।

    विप्लव नेतृत्वको नेकपालाई राजधानीको सुरक्षा चुनौतीको सूचीमा राख्नुको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल भन्छन्–‘चन्दा लगायतका कुरा आउँछ, त्यसैले हो ।’

    २०७७ फागुन २१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै ‘शान्तिपूर्ण राजनीति’ स्वीकारेका थिए । वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चामा ‘विप्लव’ नेतृत्वको नेकपा पनि आबद्ध छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले थालेको प्रदर्शन पनि काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यप्रगतिबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रसाईं लगायतका असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शनलाई ‘सुरक्षा चुनाैती’को रूपमा व्याख्या गरे ।

    ‘वित्तीय क्षेत्रमा वृद्धि भएको व्याज मिनाहा गर्नुपर्ने मागसहित (दुर्गा प्रसाईं) लगायत असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शन सुरक्षा चुनौतीको रूपमा देखिएको छ’–काठमाडौँ प्रहरीले भनेको छ ।

    मन्द आर्थिक कारोबारका कारण बैंकिङ कसुर सम्बन्धी जाहेरी पनि दैनिक बढ्दो अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा गरिने गणतन्त्र तथा धर्म निरपेक्षता विपरीतका गतिविधिलाई प्रहरीले उपत्यकाको सुरक्षा चुनौती किटान गरेको छ । सरकारको विपक्षमा रहेका दल तथा भातृ संगठनको सम्भावित विरोधका कार्यक्रमलाई काठमाडौँ प्रहरीले आफ्नो सीमा इलाकाको सुरक्षा चुनौती किटान गरेको छ ।

    संयुक्त जनमोर्चा लगायत संघीयता विरोधी गतिविधिहरू, काठमाडौँका क्याम्पसहरूमा हुनसक्ने सम्भावित गतिविधि र वित्तीय अपराध नियन्त्रण अहिलेको चुनौती भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले भने–‘बैंक–सहकारी ठगी, हुण्डी, नक्कली नोटको कारोबार राजस्व अपचलन तथा ठगी नियन्त्रण अहिले चुनौतीको रूपमा देखिएको छ ।’

    वैदेशिक रोजगारीको नाममा हुने ठगी, सुन तस्करी, बहुमूल्य पत्थर, जडीबुटी र आखेटोपहार तस्करी नियन्त्रण पनि प्रहरीका लागी चुनौती भएको एसपी रिजालको भनाई छ । नेशनल मंगोल अर्गनाइजेशनको हिन्दु धर्मविरोधी गतिविधि र क्रिस्चियन समुदायका गतिविधि उपत्यकाको सुरक्षा चुनौती हुन् ।

    ‘नेशनल मंगोल अर्गनाइजेशनले हिन्दु धर्मविरोधी गतिविधि सञ्चालन गर्ने गरेको सूचना छ’ एसपी रिजाल भन्छन् क्रिस्चियन समुदायका गतिविधि र हिन्दु अतिवादी समूहको गतिविधि चुनौतीको रूपमा देखिएको छ ।’

    प्रहरीका अनुसार शिव सेना, विश्व हिन्दु महासंघ, शाही युवा शक्ति हिन्दु अतिवादी समूह हुन् ।
    ratopati bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij