प्रकाशित मिति : शनिबार, साउन २७, २०८०
सल्यान । भेरी नदीमा पुल नहुँदा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–२ कुनिकका स्थानीय आफ्नै लगानीमा तुइन निर्माण गरी नदी वारपार गर्दै आएका छन् । सम्बन्धित निकायसँग झोलुङ्गे पुल निर्माणको लागि बारम्बार माग राख्दै आएपनि कसैले चासो नदेखाएपछि स्थानीयले आफ्नै लगानीमा पुलको विकल्पका रुपमा दुई महिनाअघि तुइन निर्माण गरेका हुन् ।
बन्गाड कुपिण्डे नगरपालिका–२ कुनिक, बामे,लाखर, राइरा र जाजरकोटको भेरीगंगा नगरपालिकाको खाराका दुई दर्जन परिवारले तुइनको प्रयोग गर्दै आएका छन् । पुल नहुँदा विगतमा गाडीको ट्युब प्रयोग गरी भेरी नदी वारपार गर्न बाध्य हुँदै आएका स्थानीयलाई केही राहत भएपनि जोखिम भने उत्तिकै रहेको छ ।
विगतदेखि दलका नेताले विभिन्न बहाना बनाउँदै मागलाई टाल्दै आएकाले दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न, बालबालिकालाई विद्यालय जान असहज भएको र बिरामीलाई उपचारका लागि अस्पताल कठिनाइ भएपछि प्रत्येक घरकाले सक्दो रकम उठाइ झोलुङ्गे पुलको लहरा किनी तुइन बनाएको ६० वर्षीय मानबहादुर घर्तीले बताए । भेरीमा निर्माण गरेको तुइनको लम्बाई १ सय २५ मिटर रहेको उनले जानकारी गराए । ‘तुइनमा बस्ने ठाउँ भएपनि आफैंले डोरी तान्नु पर्छ । दुरी लामो भएकाले हातका छाला जाने गरेका छन्,’ उनले भने ।
तुइन निर्माण गरेपछि मान्छेलाई भेरी वारपारमा सहज भएपनि बिरामीलाई अस्पताल पुर्याउन र दैनिक उपभोग्यवस्तु ओसारपसार गर्न अहिले पनि त्यत्तिकै समस्या भएको स्थानीय डिल्ली घर्तीले बताए । वडा कार्यालय, स्वास्थ्यसंस्था तथा विद्यालय टाढा भएका कारण स्थानीय आफ्नै वडाबाट पाउने स्वास्थ्यसेवा लगायत हरेक किसिमको सेवाबाट बञ्चित हुँदै आएको उनले जानकारी दिए । ‘भेरी नदीमा ट्युबबाट वारपार गर्दा धेरै गाह्रो हुन्थ्यो । वर्षातको समयमा बालबालिका विद्यालय जान पाउँदैनथे । अहिले त्यस्तो छैन,’ उनले भने ।
सरकारले तुइन विस्थापन गर्ने नीति ल्याएपनि पुल निर्माणको लागि बजेट विनियोजन नगर्दा तुइन बनाउनु आफूहरुको रहर नभइ बाध्यता रहेको स्थानीय गोपिलाल आचार्यले बताए । तुइनले बजार तथा विद्यालय जाने बालबालिकालाई सहज भएको र नियमित विद्यालय जान पाएका उनले जानकारी गराए । ‘वर्षातको समयमा तीन महिना बढी स्थानीय बालबालिका विद्यालय जान पाउँदैनथे । विद्यालय जाँदा ठूलाले झन्डै ढाई घन्टाको दुरी पार गर्नुपर्थ्यो । तुइनले दुरी धेरै छोट्याएको छ,’ उनले भने ।
तुइन निर्माणका लागि व्यक्तिगत रुपमा १५ हजार नगद सहयोग गरेको र ५० हजार पर्ने झोलुङ्गे पुलको लहरालाई २५ हजारमा किनेर ल्याएको वडा अध्यक्ष मनबहादुर खत्रीले बताए । सल्यान र जाजरकोटका दैनिक १०/१५ जनाले तुइनको प्रयोग गर्दै आएका उनले जानकारी दिए । कुनिक नजिकै भेरी नदीमा झोलुङ्गे पुल निर्माणको लागि यो वर्ष प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij