शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अब जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला

  • प्रकाशित मिति : बुधबार, साउन ३१, २०८०



  • काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन गर्दै जग्गाको कित्ताकाट खुला गरेको हो ।

    यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय भएको बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।

    उनका अनुसार जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएका कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका कामलाई फुकाउनेगरी भूउपयोग नियमावली मन्त्रिपरिषदले पारित गरेको हो ।

    गत वैशाखमा मन्त्रिपरिषदले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुनसकेको थिएन । गत वर्षको जेठमा भूउपयोग नियमावली जारी गरिएपछि जग्गाको वर्गीकरण गर्नुुपर्ने प्रावधान राखेपछि कित्ताकाट रोकिएको थियो । स्थानीय तहले गत पुस महिनाभित्रमा नै वर्गीकरण गरिसक्नुपर्ने भए पनि १ सय ६० पालिकाले वर्गीकरण गर्दा कित्ताकाट पूर्ण रूपमा खुल्न सकेको थिएन, जसले गर्दा राजस्वमा समेत धक्का परेको थियो ।

    जग्गासँग जोडिएका सबै समस्या समाधान गर्नेगरी नियमावली संशोधन भएको र जग्गा कित्ताकाट, नामसारीलगायतका सबै काम अब सहज हुनेगरी मन्त्रिपरिषदले नियमावली संशोधन गरेको बताइएको छ ।

    कित्ताकाटलाई पूर्ववत अवस्थामा सहज गराई सो समस्या समाधान गर्नेगरी गरेको भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली २०८० को प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको र मन्त्रिपरिषदले त्यसलाई पारित गरेको बताइएको छ ।

    नियमावली संशोधनसँगै अब कुनै जग्गा व्यावसायिक वर्गीकरणमा परेको छ भने कित्ताकाट नहुने भन्ने समस्या नरहने भएको छ । अंशबन्डा गर्दा न्यूनतम यति जग्गा हुनैपर्छ भन्ने पनि अब समस्या नहुने प्रावधान नियमावलीमा उल्लेख गरिएको छ । संशोधनसँगै मोही बाँडफाँटको पनि कित्ताकाट खुला भएको छ ।

    नयाँ नियमावलीमा कृषिका लागि छुट्टै मापदण्ड बनाइएको छ भने आवास र व्यावसायिक जग्गाका लागि अर्कै मापदण्ड तय गरिएको छ । जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्र भनेर वर्गीकरण गर्नसक्ने व्यवस्था यसअघिको भू–उपयोग नियमावलीमा भएका कारण जग्गाको कित्ताकाट प्रभावित बनेको थियो ।

    काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका जग्गालाई न्यूनतम ४ आना १ दाम हुनैपर्ने, १५ आना २ पैसा ३ दामभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था रहेको थियो । जसले गर्दा कित्ताकाटमा ठूलो समस्या उत्पन्न भएको थियो ।

    कित्ताकाटमा समस्या भएपछि अर्थतन्त्र चलायमान नभएको, सहकारीहरू डुब्न थालेको रिपोर्ट प्रधानमन्त्रीसमक्ष पुगेपछि कित्ताकाटका लागि प्रधानमन्त्री तयार भएको बताइएको छ । घरजग्गा व्यवसायीहरू पनि निरन्तर रूपमा कित्ताकाट खुलाउन राजनीतिक लबिइङ गर्न व्यस्त थिए ।

    अर्थतन्त्रमा समस्या परेको महसुस गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार विस्तार गर्न कित्ताकाट फुकुवा गर्ने सरकारको नीति रहेको घोषणा गरेका थिए ।

    यसअघि नै व्यावसायिक क्षेत्रमा कित्ताकाट कति गर्न पाउने भन्ने निर्णय गत ५ वैशाखमा गरेको मन्त्रिपरिषदले थियो । तर, सरकारले व्यावसायिक क्षेत्रका जग्गामा पनि आवासीय क्षेत्रकै जति कित्ताकाट गर्न पाउने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।

    एउटै जग्गा मोहीले पनि लिनुपर्ने र जग्गाधनीले लिनुपर्ने भएकाले कित्ताकाट गर्दा साढे २ आना कायम गर्ने निर्णय गत ५ वैशाखमा भएको थियो । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले कित्ताकाट खुलेसँगै घरजग्गाको कारोबार बढ्ने र अर्थतन्त्र चलायमान हुने बताए । बैंक तथा वित्तीय संस्थादेखि लिएर सहकारीका सञ्चालकले समेत ठूलो रकम घरजग्गामा लगानी गरेका कारण उनीहरूलाई समेत राहत पुग्ने विश्वास अध्यक्ष धमलाको रहेको छ ।

    कित्ताकाटपछि घरजग्गा कारोबार बढेर बजारमा पैसा आउने कारणले अर्थतन्त्र चलायमान हुने बुझाइ उनको छ । घरजग्गाको कारोबार बन्द हुँदा त्यसको असर सिमेन्ट, डन्डी, हार्डवेयर, बिजुलीलगायतका दर्जनौं उद्योगमा समेत परेको थियो । कित्ताकाट खुलेसँगै सो क्षेत्रका व्यवसायीमा समेत उत्साह थप्ने अपेक्षा गरिएको छ ।

    मुलुकको राजस्व कम उठ्नु र बजारमा आर्थिक शिथिलता देखापर्नुमा घरजग्गा कारोबार नहुनुलाई कारक तत्वका रूपमा विज्ञहरूले औंल्याउँदै आएका थिए ।

    राजस्व संकलनका दृष्टिले गत वर्ष घरजग्गा क्षेत्र कमजोेर देखिएको र यसले समग्र अर्थतन्त्रमा समस्या आएको बुझाइ सरकारको समेत हुनथालेको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आव २०७९/८० मा देशभरिमा कुल ४ लाख ३३ हजार ७ सय ७४ वटा मात्र घरजग्गा किनबेच हुँदा राजस्व पनि ४१ अर्ब ७३ करोड मात्र उठेको थियो । जबकि, आव २०७८÷७९ मा ७ लाख ४५ हजार १ सय १९ वटा घरजग्गा किनबेच हुँदा राजस्व ७५ अर्ब ५५ करोड उठेको थियो ।

    गत आवमा करिब २९ प्रतिशतले घरजग्गाको राजस्व घटेर ४१ अर्ब १५ करोड ७६ लाख रुपैयाँ मात्रै मालपोत कर संकलन भएको थियो । जबकि, त्यसभन्दा अघिल्लो वर्ष यस्तो राजस्व संकलन ५७ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ थियो ।

    आव २०७८÷७९ मा कुल ५२ हजार ४ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो । आव २०७९-८० मा भने २४ हजार ८ सय ३७ संख्यामा मात्र घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । आव २०७८÷७९ मा काठमाडौंमा १२ हजार ७ सय ८७ संख्यामा जग्गा कित्ताकाट भएको थियो । यस्तो संख्या आव २०७९-८० मा ६ हजार ६ सय ९४ मात्र रहेको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij