प्रकाशित मिति : सोमवार, भदौ ४, २०८०
लमजुङ। लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङ जाने एक मात्र बेंसीसहर चामे सडक अवरुद्ध भएको छ । यो सडकको लमजुङ खण्डमा पर्ने बेंसीसहर नगरपालिका–६ खरखरे र मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो खस्दा सोमबार बिहानदेखि सडक अवरुद्ध भएको डुम्रे बेसीसहर चामे सडक योजनाको कायालयले जनाएको छ ।
कार्यालयका इन्जिनियर पुरुषोत्तम अधिकारीले रातभरि पानी परेको र पहिरो सडकमा खसेपछि अवरुद्ध भएको बताए । उनले पहिरो खुलाउने प्रयास भइरहेको बताए ।
बेंसीसहरदेखि करिब ३ किलोमिटरको दुरीमा पर्ने खरखरे र ३० किलोमिटरको दुरीमा पर्ने च्याम्चेमा सडक अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन् ।
डुम्रे बेंसीसहर सडक ६५ किलोमिटर सडक दुरीमा छ । उक्त खण्डमा खसेका साना–ठूला झन्डै दुई दर्जन पहिरोका कारण यतिबेला मनाङ पुग्न सकस मात्रै छैन, जोखिम पनि उत्तिकै बढेको छ ।
बेंसीसहर–चामे सडक खण्डमा सबैभन्दा दुःख दिने पहिरो खरखरेको हो । खरखरे पहिरोमा ढलान गर्न थालिए पनि बर्खायाममा काम गर्न नसकिएपछि पहिरो पन्छाउन निर्माण व्यवसायीले एक्स्काभेटर राखेका छन् । सडक कार्यालयले पहिरो पन्छाउन लमजुङतर्फ रामबजार, श्रीचौर र मनाङतर्फ दानाक्युमा डोजरहरू तम्तयार अवस्थामा राखेको छ ।
तैपनि वर्षा निरन्तर पर्दा नयाँ–नयाँ ठाउँमा पहिरो खसेर सडक आवागमन समयमै खुलाउन समस्या पर्ने गरेको कार्यालयले बताएको छ । डुम्रे–बेंसीसहर–चामे रामबजार र च्याम्चेमाका साथै मनाङतर्फ निगालोघारी–सिरानतालमा पनि साना–ठूला पहिरो खस्ने क्रम जारी रहेको सडक योजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए ।
‘पानी परिरहेकाले समयमा नै पहिरो पन्छाउन सकस भइरहेको छ । नयाँ नयाँ पहिरो खस्दै जाँदा पनि चुनौती थपिएको छ,’ उनले भने, ‘तलबाट पहिरो पन्छाउँदै गयो, माथिबाट खसिरहेको हुन्छ । जोखिम मोलेरै हामीले सडक खुलाउने प्रयास गरिरहेका छौं ।’
मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार वर्षाका कारण आएको बाढीपहिरोले बेंसीसहरदेखि चामेसम्मको यात्रा कठिन हुने गरेको छ । ‘प्रायः लमजुङतर्फको पहिरोले बाटो अवरुद्ध हुने गरेको छ । मनाङतर्फ स–साना पहिरो हो, एकाध घन्टामा खुल्छ । मुख्य समस्या लमजुङकै खरखरेको पहिरो हो,’ उनले भनिन् ।
बर्खा लागेसँगै हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेंसीसहर–चामे सडकमार्ग बाढीपहिरोले तारन्तार अवरुद्ध हुने समस्या बर्सेनि हुँदा स्थानीय मर्कामा पर्दै आएका छन् । बेंसीसहरदेखि चामेमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमा पहिरोको बढी समस्या रहेको इन्जिनियर अधिकारीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij