प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०८०
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुको सरुवा गरेको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका डीआईजी कमल गिरीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ ।
प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ । प्रतिष्ठानमा २२ दिन बिना जानकारी विदामा बसे पनि खत्रीलाई भने आकर्षक ठाउँमा पठाइएको छ ।
उनी साउन महिनाभर अमेरिका घुमेर भर्खरै नेपाल आएका थिए । आए लगत्तै उनलाई सशस्त्र मुख्यालयले प्रष्टीकरण सोधेको थियो । उनी सुर्खेतका भएकाले उपप्रधान तथा रक्षामन्त्रीको सोर्समा कमाण्डबाट कमाण्ड गर्न गएका हुन् । गणेश ठाडा, किशोर प्रधानलाई पनि उछिनेर उनले सोर्स लगाउन भ्याएका हुन् ।
सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ ।
त्यस्तै एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम सिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij