आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीनमा आइफोन प्रतिबन्धको असर, एप्पलले २ दिनमै गुमायो २ खर्ब डलर

  • प्रकाशित मिति : शनिबार, भदौ २३, २०८०



  • चीनमा सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भएसँगै एप्पलको शेयरमा भारी गिरावट आएको छ ।

    पछिल्ला दुई दिनमा एप्पलको शेयर बजार मूल्यमा ६ प्रतिशतले गिरावट आएको छ । यो सँगै एप्पलले दुई दिनमै २ खर्ब डलर गुमाउन पुगेको छ ।

    एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो र गतवर्ष एप्पलले कूल आम्दानीको १८ प्रतिशत चीनबाटै गरेको थियो ।

    साथै एप्पलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको फक्सकन कम्पनीले सबैभन्दा धेरै उत्पादन चीनमै गर्ने गरेको छ ।

    वालस्ट्रिट जर्नलले बुधबार प्रकाशित गरेको समाचार अनुसार चीनले आफ्ना केन्द्रीय सरकारी निकायका कर्मचारीलाई कार्यालयमा आउँदा आइफोन नबोक्न तथा प्रयोग नगर्न निर्देशन दिएको थियो ।

    ब्लुम्बर्गका अनुसार यस्तो प्रतिबन्ध केवल केन्द्रीय सरकारी निकायहरुमा मात्र नभई सरकारी स्वामित्वका कम्पनी तथा सरकार समर्थित एजेन्सीहरुमा पनि लागू हुनेछ ।

    वालस्ट्रिट जर्नलका अनुसार हालैका हप्ताहरुमा सरकारी कर्मचारीहरुलाई उनीहरुको कार्यालयमा सुपरीवेक्षकहरुबाट आइफोन प्रयोग नगर्ने निर्देशन भएको छ । यस्तो बन्देज आइफोनसँगै अन्य विदेशी ब्राण्डका डिभाइसहरुमा पनि लागू गरिएको बताइएको छ ।

    चीनमा कतिपय एजेन्सीहरुमा यसअघिबाटै आइफोन प्रयोगमा बन्देज लगाइएको भएपनि हाल यसलाई विस्तार मात्रै गरिएको दाबी वालस्ट्रिट जर्नलको छ ।

    सेप्टेम्बर १२ मा आइफोन १५ सिरिज लञ्च हुनु अगाडि यो समाचार सार्वजनिक भएको थियो ।चीनका सरकारी कम्पनीहरुमा कार्यरत कतिपय चिनिया सोसल मिडिया प्रयोगकर्ताले आफूहरुलाई सेप्टेम्बरको अन्त्यबाट कार्यालयमा एप्पल डिभाइस प्रयोग नगर्न निर्देशन दिइएको बताएका छन् ।

    यद्यपि सरकारी निकायमा एप्पलका प्रडक्ट प्रयोग नगर्न निर्देशन दिइएको समाचारका विषयमा चीन सरकारले आधिकारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन । साथै एप्पलले पनि यस बारेमा केही बताएको छैन ।

    समाचार प्रभाव

    एप्पल कम्पनी विश्वमै शेयर बजारमा सर्वाधिक बजार मूल्य भएको कम्पनी हो, जसको बजार मूल्य करिब २.८ ट्रिलियन डलर रहेको छ ।

    एप्पलको शेयरमा गिरावटसँगै यसका अन्य विभिन्न आपूर्तिकर्ता कम्पनीको शेयर मूल्यमा पनि असर परेको छ ।

    स्मार्टफोन चिपको सबैभन्दा ठूलो आपूर्तिकर्ता कम्पनी क्वालकोमको बजार मूल्य बिहीबार ७ प्रतिशतले गिरावट आउँदा शुक्रबार दक्षिण कोरियाली एसके हिनिक्सको शेयर मूल्यमा ४ प्रतिशतले गिरावट आएको छ ।

    पछिल्लो समय प्रविधि क्षेत्रमा अमेरिका र चीनबीचको तनाव निरन्तर रुपमा बढिरहेको छ र दुबै पक्षबीच एक अर्कामाथि बन्देज लगाउने होडबाजी चलेको छ ।

    यो वर्ष अमेरिकासँगै जापान तथा नेदरल्याण्ड्सले कतिपय सेमिकण्डक्टर प्रविधिमाथि चीनको पहुँचमा बन्देज लगाएका छन् ।

    यसको बदला स्वरुप चीनले सेमिकन्डक्टर उद्योगका लागि आवश्यक दुई मुख्य पदार्थको अमेरिका निर्यातमा बन्देज लगाएको छ ।

    साथै बेइजिङले स्वदेशी चिप उद्योगको प्रबद्र्धनका लागि ४० अर्ब डलरको लगानी कोष स्थापनाको तयारी गरिरहेको छ ।

    गतहप्ता अमेरिकी वाणिज्य मन्त्री गिना राइमोन्डोको चीन भ्रमणका क्रममा चिनिया कम्पनी हुवावेले आफ्नो मेट ६० प्रो स्मार्टफोन सार्वजनिक गरेको थियो ।

    शुक्रबार कम्पनीले उक्त फोनको प्रो प्लस मोडेलको प्रि सेल्स सुरुवात गरेको छ ।

    क्यानेडाली प्रविधि अनुसन्धान कम्पनी टेकइनसाइट्सका अनुसार उक्त फोनमा नयाँ फाइभ जी किरिन ९००० एस प्रोसेसर रहेको छ, जुन चीनको सबैभन्दा ठूलो चिपमेकर एसएमआइसीले निर्माण गरेको हो ।

    विश्लेषकका अनुसार यसले सेमिकन्डक्टर उद्योगमा चीनको प्राविधिक प्रगतिलाई दर्शाउँछ । यो चीनका लागि ठूलो प्राविधिक ब्रेक थ्रु को रुपमा रहेको छ ।

    यहीँ हप्ता अमेरिकाको तल्लो सदनमा रहेको चीन सम्बन्धी समितिका अध्यक्ष रहेका सांसद माइक ग्यालंघरले चिनिया कम्पनी हुवावे र एसएमआइसीमाथि थप निर्यात प्रतिबन्ध लगाउन अमेरिकी वाणिज्य विभागलाई अनुरोध गरेका थिए ।

    एप्पलको सेक्युरिटी अपडेट

    यसैबीच एप्पलले बिहीबार आफ्ना ठूलो संख्याका पुराना तथा नयाँ डिभाइसहरुमा आकस्मिक रुपमा सफ्टवेयर अपडेट जारी गरेको थियो । अज्ञात ह्याकरहरुले प्रयोग गर्दै आएका सुरक्षा जोखिमका विषयमा खुलासा भएसँगै एप्पलले यस्तो सेक्युरिटी अपडेट जारी गरेको हो ।

    एप्पल डिभाइसमा नयाँ तरिकाबाट ह्याकरहरुले आक्रमण गरिरहेको सिटिजन ल्याबका डिजिटल अधिकार अनुसन्धानकर्ताहरुले पत्ता लगाएसँगै एप्पलले उक्त अपडेट जारी गरेको थियो ।

    पछिल्लो अपडेट एप्पलले यो वर्ष जारी गरेको १५ औँ सेक्युरिटी अपडेट हो । बीबीसी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij