प्रकाशित मिति : शुक्रबार, भदौ २९, २०८०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन्।
राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गरेका छन्।
उनले यस वर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको बताएका छन्।
सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छ।’
बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको उनले संदेशमा उल्लेख गरेका छन्।
केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उनले बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य रहेको बताएका छन्। उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्दछ राष्ट्रपतिको संदेशमा उल्लेख छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij