शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बेसी झर्न थाले भेडीगोठ

  • प्रकाशित मिति : शनिबार, अशोज २०, २०८०



  • बागलुङ। गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्।

    लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो। जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन्। बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक-बेसी गर्ने गर्छन्।

    पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो। एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन्। गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन्।

    बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ। यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन्। यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन्।

    बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य-मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन्। यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन्।

    गत बैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए। चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताए।

    चिसोले भेडाहरु मर्दा एक सातामै साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ।
    “चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरिसक्छन्”, उनले भने, “भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ।”

    भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए। असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ।

    करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले बताए। अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ।

    स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताए। आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चसो नदिँदा भेडागोठालेको सङ्ख्या घट्दै गएको बताए।

    ६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताए। दुई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेडापालनमा चासो नदिएको उनको भनाइ छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij