शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जनताले खोजेको र रोजेको सही पात्रबाट काम अघि बढाउन पाउनुपर्छ : ज्ञानेन्द्र शाह

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३, २०८०



  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने बताएका छन् । विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै शाहले देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका हुन् ।

    व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको शाहले बताएका छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर प्रश्न समेत गरेका छन् । ‘ डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुबै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ,’ शाहले विज्ञप्तिमा भनेका छन् ।

    यस्तो छ शाहको शुभकामना सन्देश :

    प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,

    नेपालीहरूको महान् राष्ट्रिय पर्व बडा दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्साउने यो पर्वले हामीलाई सही, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

    हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फूलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौँ भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ ।

    धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो । अभाव र भेदभाव नेपालीपन होइन । सद्भाव विनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन ।

    डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुवै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ ।

    व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ?

    जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन – हाम्रो यही चाहना हो ।

    श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून् ।

    जय नेपाल ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij