प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०८०
मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा निर्माण भएको नेपाली बहुसांस्कृतिक केन्द्रमा नवनिर्मित संरचनाको उद्घाटन गरिएको छ।

दशैंको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रमकाबीच आयोजना गरिएको औपचारिक कार्यक्रममा अष्ट्रेलिया नेपाल पार्लियामेन्ट फ्रेन्ड्सका संयोजक पिटर खलिल, बहुसांस्कृतिक केन्द्र रहेको क्षेत्रका सांसद शाम रे, वाचन शिरोमणि दिनबन्धु पोखरेल, भिक्टोरिया बहुसांस्कृतिक आयोगकी अध्यक्ष भिभियान न्यूगिन, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
भिक्टोरिया सरकारको सहयोग र बहुसांस्कृतिक केन्द्रको खर्चमा दर्शनार्थीहरुको लागि आवश्यक पर्ने यज्ञ गर्ने ठाउँ, मन्दिरको संरचना, शौचालयलगायत निर्माण गरिएको थियो । भिक्टोरिया सरकारले ३ लाख १० हजार र संस्थाले त्यति नै रकमको लागतमा यो पुननिर्माण गरिएको हो।
कार्यक्रममा बोल्दै सांसद पिटर खलिलले ग्लेनरोय लगायत आफ्नो क्षेत्रमा रहेका नेपालीहरुको प्रगतिबाट उत्साही रहेको बताएका थिए भने उनले अब बहुसांस्कृतिक केन्द्रलाई मिनी नेपाल होइन बिग नेपाल बनाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा सांसद शाम रेले बहुसांस्कृतिक केन्द्रको सुरक्षाका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि संघीय सरकारको तर्फबाट समेत अनुदान स्वीकृत भएको जानकारी दिएका थिए।
सांसद र बहुसांस्कृतिक अतिथिको टोलीले स्थापना गरिएका मूर्तिहरुको अवलोकन गर्नुका साथै पुष्पअर्पण समेत गरेको थियो। उक्त अवसरमा नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गन्धी भट्टराईले उनीहरुलाई मन्दिरको महत्व, त्यहाँ रहेका भगवानका मूर्तिहरुको बारेमा जानकारी गराएका थिए।
यतिबेला मेलबर्न सप्ताह २ आयोजना गर्दै बहुसांस्कृतिक केन्द्रले दशैंको दश दिन नै विशेष कार्यक्रम गरिरहेको छ। संस्थाका सचिव डा. तिलक पोखरेल र क्रिष्टिना अनुले सञ्चालन गरेको औपचारिक कार्यक्रममा बोल्दै अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले यसअघि आयोजित मेलबर्न सप्ताहले नै यो विशाल संरचनाको जग बसालेको भन्दै पण्डित दिनबन्धु पोखरेलको योगदानको प्रशंसा गरेका थिए।
उनले भिक्टोरियाका नेपालीको एकताले नै यो सफलता मिलेको धारणा राखेका थिए। कार्यक्रममा बोल्दै सांसद ट्रग लु, एलायन्स अफ साउन एशियन लेबरका प्रविन कुमार लगायतले कार्यक्रम सफलताको कामना गरेका थिए भने दशैंको शुभकामना दिएका थिए। भिक्टोरियाका पण्डित नारायण दाहालले दशैं, तिहार र छठको महत्वका विषयमा उपस्थितहरुलाई जानकारी गराएका थिए।
कार्यक्रममा उपस्थितहरुलाई मेलबर्न सप्ताह २ का संयोजक अनन्त पौडेलले धन्यवाद दिएका थिए। उनले स्वयंसेवकहरुको खुलेर प्रशंसा गर्दै मेलबर्नको समूदायले देखाएको तत्परताले आफ्नै भूमिमा दशैं मनाउने सपना साकार बनेको धारणा राखेका थिए।
घटस्थापनादेखि सञ्चालित नवाह ज्ञान महायज्ञको सोमबार समापन गरी वाचन शिरोमणि दिनबन्धु पोखरेलले मेलबर्नवासीहरुलाई दशमीको दिन दशैंको टीका लगाइदिने कार्यक्रम छ। मन्दिर परिसरमा राखिएको जमरा निःशुल्क वितरण गरिँदैछ।
कार्यक्रममा संस्थापक अध्यक्ष रन्जन वैद्य, पूर्वअध्यक्षहरु डा. चन्द्रदिपक पोखरेल, राजेश आचार्यले संस्थाले हासिल गरेका महत्वपूर्ण चरणहरुको बारेमा जानकारी दिएका थिए।
मेलबर्नमा सन् २०१४ मा दर्ता भई सञ्चालित बहुसांस्कृतिक केन्द्रको जग भने १९९७ बाट नै राखिएको थियो। त्यसबेला अनौपचारिक छलफल र कार्यक्रमहरुमार्फत अघि बढेको यो अभियानले २०१७ मा आयोजना गरिएको मेलबर्न सप्ताहपछि द्रूत गति पाएको थियो। यस लगत्तै हाल मन्दिर रहेको १ सय १५ रोपनीभन्दा बढी क्षेत्रफल रहेको यो जग्गा किनिएको थियो।
अष्ट्रेलियाका अन्य राज्यहरुमा पनि नेपाली मन्दिर, गुम्बासहितको संरचना निर्माण गरी नेपाली कला, संस्कृति, परम्पराको जगेर्ना गर्न तथा चाडपर्वहरु सामूहिक रुपमा मनाउन यस्तै बहुसांस्कृतिक केन्द्रहरु निर्माणको चरणमा छन्।
भिक्टोरियामा भने मन्दिर सञ्चालनमा समेत आइसकेको छ। मन्दिरमा देवी देवताको मूर्तिको प्राणप्रतिष्ठापछि मात्रै २५ हजारभन्दा बढी व्यक्तिहरु यहाँ पुगिसकेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij