प्रकाशित मिति : सोमवार, कार्तिक १३, २०८०
यसपालि हेलिकप्टर व्यवसाय कोभिड अघिकै लयमा फर्किएको व्यवसायीहरूले बताएका छन्।
सिजनमा विभिन्न हिमाल आरोहण तथा अवलोकनका लागि पर्यटकहरूले हेलिकप्टर चार्टर गर्ने भएकाले यतिबेला हेलिकप्टर कम्पनीलाई उडानमा भ्याइनभ्याइ छ।
कैलाश, एयर डाइनेष्टी, सिम्रिक, हेलि एभरेष्ट, प्रभु र अल्टिच्युड हेलिकप्टरले खुम्बु, मनास्लु, अन्नपूर्ण, कञ्चनजंघा, लाङटाङ, अन्नपूर्ण, मकालु, आमाडब्लाम लगायतका गन्तव्यहरूमा पर्यटकीय गन्तव्यहरूमा उडान गरिरहेका छन्।
अक्टोबरको सुरूआतदेखि नै हेलिकप्टर चार्टर उडान सुरू भएको कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए। कैलाशसँग हाल तीनवटा हेलिकप्टर उडानमा छन्।
‘अक्टोबरदेखि नै पूर्ण क्षमताअनुसार उडान भइरहेको छ,’ उनले भने, ‘यस्तो उडान कोभिडअघि मात्र थियो। त्यसयता अकुपेन्सी खासै थिएन।’
एउटा हेलिकप्टर दैनिक पाँचदेखि ६ घण्टा उड्न पाउछ। सोहीअनुसार दैनिक चार÷पाँच वटा उडान भइरहेको उनले बताए।
कोभिडपछि यसपालि सिजनमा मासिक एक लाख हारहारीमा पर्यटक भित्रिरहेका छन्। पर्यटकको उत्साहजनक आगमनले हेलिकप्टर व्यवसायमा पनि उत्साह छाएको हेलि एभरेष्टका निर्देशक प्रनिश श्रेष्ठले बताए।
उनकाअनुसार अक्टोबरबाट सुरू भएको सिजनको चार्टर उडान आगामी डिसेम्बर पहिलो सातासम्म बुकिङ नै छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij