प्रकाशित मिति : शुक्रबार, कार्तिक २४, २०८०
लिवाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने बताएका छन् । शुक्रवार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनवादी क्रान्तिमा रोल्पा जिल्लाले खेलेको भूमिका अग्रणी रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘रोल्पा क्रान्तिको आधार इलाका हो, परिवर्तनको महत्त्वपूर्ण आधार हो। इतिहास, त्याग र बलिदानको प्रतीक हो। शान्ति र निर्माणको पनि प्रतीक हो। नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको स्थापनामा रोल्पा जिल्लाको धेरै ठुलो योगदान छ। यो योगदानलाई इतिहासले बिर्सिन सक्दैन।’
‘गणतन्त्रपछि रोल्पाको विकास गुणात्मक छ। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका क्षेत्रमा राम्रो प्रगति भएको छ। तर यो पर्याप्त छैन ।’ प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा गठन भएको वर्तमान सरकार सुशासन, विकास र सुशासनको लक्ष्यसहित अगाडि बढेको छ। तपाईँहरूले सुन्नुभएकै होला, थुप्रै भ्रष्टाचारीहरू जेलमा छन्, भू-माफियाहरूमाथि कारबाही थालिएको छ। जनताको आशा र विश्वासको वातावरण बन्दै गएको छ।’
सो जनसभामा नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन, सचिव हितमान शाक्य लगायतका नेताहरूले सरकारको भ्रष्टाचारविरोधी अभियानमा पार्टी पूर्ण साथ रहेको र यो अभियान अझै उचाइका साथ अगाडि बढ्ने बताए ।
जनशक्ति आपूर्तिमा सहयोग गर्छु
जनसभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले लिवाङमा निर्मित ५० शय्याको अस्पताल भवनको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रधानमन्त्रीले भने, ‘रोल्पामा विकासका काम एकपछि अर्को अघि बढ्दैछन्। आज ५० शय्याको अस्पतालको उद्घाटन भएको छ। सेवा बिस्तारपछि अस्पतालले थप सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छु। अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको व्यवस्था सरकारले गर्नेछ।’
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल र नागरिक मिलेर मुलुकलाई विकास र समृद्धिको दिशामा लैजानुपर्ने बताउँदै सरकारले त्यसको नेतृत्व गरिरहेको प्रस्ट्याए ।
गाउँपालिका इन्चार्ज भएर थवाङको बैठक सम्पन्न
शुक्रवार बिहान रोल्पाको थवाङ गाउँपालिका पुगेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले थवाङ गाउँपालिकाको बैठकको इञ्चार्जसीप गरे ।
माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ मा अध्यक्षले सातवटै प्रदेशका एक–एक वटा वडाको जिम्मेवारी लिने निर्णयअनुसार उनले थवाङ गाउँपालिकाको इञ्चार्जसीपको भूमिका खेलेका हुन् ।
शुक्रवार सम्पन्न गाउँपालिकास्तरीय प्रशिक्षणमा प्रधानमन्त्रीले पालिका इन्चार्जको रूपमा निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुका साथै सम्बोधन समेत गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij